खुला | प्रदेश |

बयलकाँडा गढीमा पृथ्वीनारायण शाहको शालिक अनावरण

ललित बसेल
सुर्खेत, पुस २७ गते । राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीको अवसरमा सुर्खेतको ऐतिहासिक बयलकाँडा ऐतिहासिक गढीमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहीको पूर्णकदको शालिक अनावरण गरिएको छ । सदरमुकामदेखि ९ किमी उत्तरतर्फको वीरेन्द्रनगर नगरपालिका—१४ को गढीमा रहेको सो बयलकाँडा गढीमा नेपाली सेनाका पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाहीले शालिक अनावरण गर्नुभयो ।

नेपाली सेनाको कालीबक्स गण (ई) तथा नयाँ सबुज गणको सहकार्यमा उक्त शालिक निर्माण गरेको थियो । शालिक अनावरण गर्दै उपरथी शाहीले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहीको शालिक ऐतिहासिक गढीमा स्थापना गरेर नेपाली सेनाले संस्कृतिको संरक्षण गरेको बताउनुभयो । गढीहरुले नेपालको रक्षा गरेको हुँदा नेपाली सेनाले देशभरका गढीहरुको संरक्षण, सम्वद्र्धन गर्ने जानकारी दिनुभयो ।

बयलकाँडा गढी ऐतिहासिक र सांस्कृतिक धरोहर भएकोले पृथ्वीनारायण शाहको शालिक निर्माणले यस क्षेत्रको आन्तरिक पर्यटनको पनि विकास हुने विश्वास व्यक्त गर्नुभयो । उपरथी शाहीले पृथ्वीनारायण शाहको उपदेश तीन सय वर्षपछि पनि उत्तिकै मनन्योग्य रहेको बताउनुभयो ।

कालीवक्स गणका प्रमुख सेनानी चन्द्रशेखर काप्रीले तत्कालीन बाइसे राज्यको एकीकरण गर्नेक्रममा बहादुर शाहले यस बयलकाँडा गढीको निर्माण गरेको र यसबाट सुर्खेत उपत्यका अवलोकन गर्न सकिने जानकारी दिनुभयो । पृथ्वीनारायण शाहको शालिक निर्माणले गढीमा पर्यटकीय चहलपहल बढ्ने बताउनुभयो । पृथ्वीनारायण शाहको शालिक सिपाही केशव आचार्यले तीन साताको अवधिमा निर्माण गर्नुभएको थियो । सो क्रममा शालिक निर्माणकर्ता आचार्यलाई सम्मान गरिएको थियो ।

शालिक अनावरण कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रहरी प्रमुख एसपी पदमबहादुर विष्ट, नयाँ सबुज गणका प्रमुख सेनानी केशव रायमाझीलगायतको उपस्थिति थियो ।