सिन्धुलीका सबै वडा सडक सञ्जालसँग जोडिए
बाबुराम देवकोटा
सिन्धुलीमाढी, पुस २८ गते । सिन्धुली जिल्लामा नौ वटै पालिकाका सबै वडा सडक सञ्जालले जोडिएका छन् । जिल्लाका दुर्गम क्षेत्रमा रहेको तीनपाटन, घ्याङलेख, हरिहरपुरगढी र फिक्कल गाउँपालिकाका सबै वडा सडक सञ्जालले जोडिएको स्थानीय तहले जनाएका छन् । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको सहयोगमा सडक निर्माणले तीव्रता पाएको छ । नौ वटा स्थानीय तहका ७९ वडामा सडक पुगेको छ ।
तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापामगर उक्त पालिकाका सबै ११ वटै वडा सडक सञ्जालले जोडिएको बताउनुहुन्छ । ‘सबै वडाको वडा कार्यालयसम्म सडक पु¥याएका छौं,’ उहाँले भन्नुभयो, ‘जिल्ला सदरमुकाम सिन्धुलीमाढीदेखि पालिकाको केन्द्र रहेको चकमकेसम्मको ४२ किलोमिटर लामो सडकस्तर उन्नतिसहित धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको छ । त्यो मध्ये सदरमुकामको बुद्धचोकदेखि भीमस्थान गैरीसम्म १९ किलोमिटर लम्बाइ सडकमा अहिले पिचको काम भइरहेको छ ।’
गैरीदेखि चकमकेसम्मको २३ किलोमिटर लामो सडक कालोपत्रेसहित निर्माणका लागि सङघीय सरकार, बागमती प्रदेश सरकार र तीनपाटन गाउँपालिकाबीच त्रिपक्षीय सम्झौता भई टेण्डर प्रक्रियामा रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार भिमस्थान गैरी–चकमके सडक निर्माणका लागि सङ्घीय सरकारले ७५ प्रतिशत, बागमती प्रदेश सरकारले १० प्रतिशत र गाउँपालिकाले १५ प्रतिशत बजेट व्यहोर्ने भएको छ । उक्त सडक निर्माणका लागि डिपिआर तयार भइसकेको र चाँडै नै टेण्डर निकालेर काम सुरु गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै, दुधौली नगरपालिकाको वडा नं. ३ र ६ पनि कालोपत्रेसहितको सडक सञ्जालले जोडिएको छ । एसियाली विकास बैंकको सहयोगमा सिन्धुलीको दुधौली नगरपालिका अन्तर्गत वडा नं. ३ को झुंगा–वडा नं. ६ को जगाडीलाई जोड्ने साढे १२ किलोमिटर लामा सडक यो वर्ष कालोपत्रेसहित निर्माण भएको स्थानीयले शिक्षक वासु कोइरालाले जानकारी दिनुभयो ।
उक्त सडक निर्माण गर्ने इम्यानोयल कन्ट्रक्सनका प्रमुख छेत्र बम्जनका अनुसार नाला बाहेक सडकको चौडाइ पाँच दशमलब २५ मिटर हुने र त्यसमा कालोपत्रेको भाग चार दशमलब ५० मिटर छ । उक्त सडकको कुल लागत भ्याट बाहेक १७ करोड ४७ लाख ३७ हजार ६९४ रुपियाँ रहेको इम्यानोयल कन्ट्रक्सनले जनाएको छ ।
दुधौली नगरपालिकाका मेयर घनश्याम राउत स्थानीय सरकार बनेपछि सबै वडामा सडक पु¥याएको बताउनुहुन्छ । उक्त नगरपालिकाका १४ वटै वडामा सडक पुगेको र मदन भण्डारी राजमार्गसँग धेरै वडा जोडिएको उहाँको भनाइ छ । मदन भण्डारी राजमार्गले दुधौली नगरपालिकाको वडा नम्बर १,२, ३, ४, ५, ७, ८, ९ र १० लाई छोएको नगरपालिकाले जनाएको छ ।
स्थानीय तहको वडाभित्र स्थानिय सरकार, प्रदेश सरकार र सङघीय सरकारको सहयोगमा कालोपत्रे सडक निर्माण भएका छन् । वडाका भित्री सडकलाई दिगोपना दिन धमाधम कालोपत्रे भइरहेको छ । कमलामाई नगरपालिका वडा नं. १० का वडा अध्यक्ष रामहरि ढुङ्गेल उक्त वडाभित्र अहिले डाँडाटोलदेखि सानागाँउसम्म चारसय मिटर सडक धमाधम कालोपत्रे भइरहेको सुनाउनुहुन्छ ।
कमलामाई नगरपालिका र बागमती प्रदेश सरकारको समपुरक बजेट एक करोड रुपियाँको लागतमा उक्त काम भइरहेको छ । स्थानीय तह आएसँगै गाउँगाउँमा मोटरबाटो पुगेको उहाँको भनाइ छ । वडा अध्यक्ष ढुङगेलले भन्नुभयो, ‘वडा–वडामा निर्माण भइरहेका सडकका कारण स्थानीय किसानलाई आफ्नो उत्पादन बेचबिखनमा समेत निकै सजिलो भएको छ ।’