२४ औँ भूकम्प सुरक्षा दिवस ललितपुरको पाटनमा
काठमाडौं, पुस २८ । भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने मूल नाराका सााथ यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवस ललितपुरको पाटनमा हुनेभएको छ । २४ औँ भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिले बुधबार पत्रकार सम्मेलन गर्दै दिवस मनाउने विषयमा जानकारी गराएको हो । माघ २ गते आयोजना हुने भूकम्प सुरक्षा दिवसको कार्यक्रमबारे बुधबार शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
भूकम्प सुरक्षा दिवसको कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुनेछ । माघ २ गते दिउँसो ललितपुर दरवार क्षेत्र परिसरमा सीमित व्यक्तिको उपस्थिति र अनलाइन गरेर भूकम्प दिवस मनाउन लागिएको भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका संयोजक तथा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिनुभयो ।
मैनालीका अनुसार विद्यमान कोभिड–१९ को असहज परिस्थितिमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सतर्कता परिपालना गर्दै कार्यक्रम हुन लागेको हो । कार्यक्रमको अवसरमा संघ, प्रदेश तथा स्थानीय तहहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन हुनेछन् । भूकम्पीय सुरक्षा सम्बन्धी दुई दिवसीय राष्ट्रिय गोष्ठी कार्यक्रम, भूकम्पीय सुरक्षा सम्बन्धी डिजिटल प्रदर्शनी लगायतका कार्यक्रम सामाजिक सञ्जाल तथा आम संचार माध्यम र अनलाइन प्रविधि मार्फत् आयोजना गरिने मैनालीले बताउनुभयो ।
मैनालीले विगत एक वर्षको अवधिमा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा मुलुकले नीतिगत तथा कार्यक्रमगत तहमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ । २०५५ साल देखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।