दैलेखमा तपाईको मास्क खै ? अभियान शुरु
कमल शर्मा
दैलेख, माघ १ गते । कोरोना भाइरस सङक्रमणको जोखिम बढ्दै गएपछि दैलेखमा तपाईको मास्क खै ? अभियान सुरु गरिएको छ । कोरोनाको हटस्पट बनेको दैलेखमा केही महिना कोरोना संङक्रमण दर शून्यमा झरेपछि छोडिएको तपाईको मास्क खोई अभियान कारोना देखिएसंगै पुनः सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय दैलेखले शुक्रवार जिल्लामा सञ्चालित अटो चालक, स्थानीय नागरिकलाई मास्क वितरण गर्दै तपाईको मास्क खै ? अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले अटोचालकलाई प्रतिष्पर्धी गतिमा होईन सुरक्षामा गरौँ चालकसँग एक मिनेटजस्ता सचेतना मुलक कार्यक्रम समेत सञ्चालन गरेको बताउनुभयो ।
दुर्घटना न्युनीकरण सम्बन्धी अपनाउनु पर्ने उपाय र कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न अपनाउनुपर्ने सतर्कताका बिषयमा समेत जानकारी दिएको उहाँले बताउनुभयो । त्यस्तै, मास्क बोकेका तर नलगाएका वा मास्क लगाए पनि च्यापुमा अड्याएका स्थानीयलाई समेत सही ठाउँमा मास्क लगाउन सल्लाह दिएको उहाँले बताउनुभयो ।
बजारमा पैदल यात्रा गरिरहेका अधिकांश स्थानीयले मास्कको प्रयोग गरेको पाइए पनि व्यापार–व्यवसाय सञ्चालन गरिरहेका कतिपय व्यवसायीले भने मास्कको प्रयोग नगरेको पाइएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले सरकारी निकायमा सेवा लिन नागरिकलाई कोरोना खोप कार्ड बोक्न र नलाएका नागरिकलाई खोप लगाउन आग्रह गरिएको बताउनुभयो ।