भन्सार छली गरी ल्याएको सामान पक्राउ
लक्ष्मी चौधरी
जनकपुरधाम, माघ १ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले अवैध भन्सार छली गरेका सामान बरामद गरेको छ । सात लाख ७० हजार ८० रुपियाँ बराबरको भारतबाट भन्सार छली ल्याएका अवैध सामान प्रहरीले शनिबार बरामद गरेको हो ।
जिल्लाबाट सादा पोशाकमा खटिएका प्रहरीको टोलीले जनकपुरधाम उपमहानगरपालिका ४ बाट साडी, ऊन मोजा, टोपी, स्काप, बच्चाको सर्ट, ज्याकेट मोटरसाईकल थान– १ गरी जम्मा दुई लाख ४४ हजार ८ सय ८० रुपियाँ बराबरको थप सामान पनि बरामद गरेको जनाएको छ ।
त्यसैगरी पुस ३० गते धनौजि गाउँपालिका १ बाट पितल तथा स्टिलका भाँडाकुडाहरू, सुती साडी, टावेल, लहंगा, सल, बच्चाको विभिन्न किसिमको कपडाहरू र मोटरसाईकल थान–२ गरी जम्मा पाँच लाख ३२ हजार २ सय रुपियाँ बराबरको मालसामान बरामद गरेको प्रहरीले जनाएको छ ।
आवश्यक कारवाहीका लागि बरामद मालसामान जनकपुर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।