खुला | प्रदेश |

बन्द कोठामा बालेको कोइलाले चार जनाको ज्यान लियो

ललित बसेल
सुर्खेत, माघ २ गते । कोठामा न्यानोको लागि झ्याल ढोका बन्दगरी बालिएको कोइलाबाट तीन बालकसहित चार जनाको ज्यान गएको छ । पुस ३० गते शुक्रवार साँझ खाना खाएर सुत्ने खाटमुनि न्यानोका लागि कोइला राखी सुतेका वीरेन्द्रनगर नगरपालिका—१० बुदबुदीका ३० वर्षीया कल्पा बुढासहित चार जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा कल्पासहित उहाँका नौ वर्षीय जेठो छोरा निरज बुढा, सात वर्षीय कान्छो छोरा चिरन्जीवि बुढा र भदै नाता पर्ने पाँच वर्षीय सोमराज बुढाको मृत्यु भएको छ । शुक्रवार साँझ सुतेका उहाँहरु शनिवार साँझ ४ बजेपछि मात्रै मृत अवस्थामा फेला परेको स्थानीयको भनाई छ । ७७ वर्षीय ससुरा वीरबहादुर बुढाले शनिवार साँझ ४ बजेसम्म पनि बुहारी र नातिहरु कतै नदेखेपछि खोजी गर्दा सुतेको ढोका बन्द रहेको र पछि झ्यालबाट हेर्दा सुतिरहेको पाइएको बताउनुभयो ।

शुक्रवार साँझ बुहारी कल्पाले फलामे तसलामा आगोको कोइला लिएर कोठा तातो बनाउने भन्दै आफ्नो कोठामा गएको बुढाले बताउनुभयो । बालक निरज कक्षा ४ मा, चिरन्जीवि कक्षा २ मा र सोमराज कक्षा १ मा घर नजिकै एक निजी विद्यालयमा अध्ययनरत थिए ।

कल्पाका श्रीमान कृष्ण बुढा जाजरकोटको शिवालय गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हुनुहुन्छ । श्रीमान शनिवार राती सुर्खेत आएपछि प्रहरीको सहयोगमा कोठा खोलिएको थियो । आइतवार विहान मृतक चारै जनाको शवको मुचुल्का उठाइ पोष्टर्माटमका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ । बुढा जाजरकोट शिवालय गाउँपालिका—६ टाटागुँयलाका स्थायी बासिन्दा हुनुहुन्छ ।

निस्सासिएर मृत्यु
जिल्ला प्रहरी कार्यालय सुर्खेतले कोइलाका कारण अक्सिजनको कमी भई निस्सासिएर चार जनाको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको बताएको छ । सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले खाटमुनि कोइलाको भाँडा रहेको र झ्याल ढोका बन्द रहेको अक्सिजनको कमीले उहाँहरुको निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिनुभयो ।

कोइला हिटर नबाल्न आग्रह
चिकित्सकहरुले पनि न्यानोका लागि कोठा वन्द गरेर कोइला, हिटर नबाल्न आग्रह गरेका छन् । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. नवराज केसीले वन्द कोठाभित्र कोइला, हिटर बालेर सुत्दा कार्वनडाइअक्साइड र कार्वन मोनोअक्साइड ग्याँस उत्पादन हुने बताउनुभयो । अक्सिजनको कमी भएपछि बेहोस भई मृत्यु हुनेगरेको उहाँले बताउनुभयो । सानो लापरबाही गर्दा ठूलो क्षति हुनसक्ने भएकाले जाडोयाममा कोठा वन्द गरेर हिटर, कोइला नबाल्न उहाँले आग्रह गर्नुभयो ।