चामल ढुवानी कार्यलाई तीव्रता दिन हुम्लावासीको माग
राजन रावत
हुम्ला, माघ ३ गते । हुम्लावासीको तर्फबाट जनप्रतिनिधि, राजनीति दल र स्थानीय प्रशासनद्वारा हवाई तथा पैदल मार्गको खाद्यन्न ढुवानी कार्यलाई तीव्रता दिन माग गरिएको छ । पैदलमार्ग र हवाई मार्गबाट खाद्यन्न ढुवानी कार्य सुस्त गति हुँदा जनतालाई बिक्री वितरणमा समस्या देखिएपछि लिमिटेडको प्रधान कार्यालय र कर्णाली प्रदेश सरकारसँग माग गरिएको हो ।
प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले लिमिटेडको खाद्यन्न निक्कै सुस्त गतिमा ढुवानी भई रहेकोमा आपत्ती जनाउदै सो कार्यलाई तत्काल तीव्रता दिन माग गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हालसम्म पचासभन्दा बढी प्रतिशत खाद्यन्न ढुवानी भई सक्ने पर्नेमा सोमबारम्म यस वर्षको स्वीकृत कोटाको खाद्यन्न मध्य एक हजार दुई सय क्वीन्टल मात्र ढुवानी भएको कारण अब त्यसलाई चाँडो ढवानी गर्ने व्यवस्थाका लागि माग गरिएको बताउनुभयो । जब कि यस वर्ष नेपालगञ्ज र सुर्खेतबाट दश हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको छ । पैदल मार्गबाट ढुवानी हुनुपर्ने खाद्यन्नको अवस्था योभन्दा अझै नाजुक छ । उहाँले गतिलो किसिमले खाद्यन्न ढुवानी हुन नसकेको कारण चार महिनादेखि जनतालाई खाद्यान्न बिक्री गर्न नसकिएको बताउनुभयो । उहाँले बैठकले तत्काल खाद्यन्न ढुवानी गर्ने भएको निर्णय लिमिटेड र कर्णाली प्रदेश सरकारलाई पठाइएको बताउनुभयो ।
शुक्रवारबाट जनताले पाउने कोटाको पचास प्रतिशत मात्र खाद्यान्न बिक्री गर्ने भनेपछि स्थानीयको विरोध जनाउदा सिमकोट गाउँपालिकाका १ र २ नम्बर वडाका बासिन्दालाई बिक्री गरेर रोकिएको छ । हाल लिमिटेडको हुम्ला शाखामा एक हजार क्विन्टल खाद्यान्न मात्र मौज्दात छ । दैनिक सीता एयरले दुईदेखि तीन उडानबाट खाद्यन्न ढुवानी गर्दै आएको छ । बैठकमा सहभागी सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले अब लिमिडेटको केन्द्रीय कार्यलयमा यो विषयलाई लिएर डेलिगेशन जाने बताउनुभयो । उहाँले खाद्यन्न ढुवानीको जिम्मा पाएर पनि चाँडो ढुवानीको व्यवस्था गर्न नपाउदा जनताले खाद्यान्न समस्या भोग्नुपरेको बताउनुभयो । बैठकमा जिल्लास्थित सबै राजनीति दलको पनि उपस्थिति थियो । एक दिन अगाडि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लामा खाद्यान्न चाँडो ढुवानी गर्ने व्यवस्था गर्न लिमिटेडलाई निर्देशन दिनुभएको थियो ।