चामल ढुवानी कार्यमा तिब्रता दिन हुम्लावासीको माग
राजन राउत
हुम्ला, माघ ३ गते । हुम्लावासीको तर्फबाट जनप्रतिनिधि, राजनीति दल र स्थानीय प्रशासनद्वारा हवाई तथा पैदल मार्गको खाद्यन्न ढुवानी कार्यलाई तिब्रता दिन माग गरिएको छ । पैदल मार्ग र हवाई मार्गबाट खाद्यन्न ढुवानी कार्य सुस्त हुँदा जनतालाई बिक्री बितरणमा समस्या देखिएपछि लिमिटेडको प्रधान कार्यालय र कर्णाली प्रदेश सरकारसँग माग गरिएको हो ।
प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले लिमिटेडको खाद्यन्न सुस्त गतिमा ढुवानी भइरहेकोमा आपत्ती जनाउनुभयो । सो कार्यलाई तत्काल तिब्रता दिन माग गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हालसम्म पचासभन्दा बढी प्रतिशत खाद्यन्न ढुवानी भइसक्नु पर्नेमा सोमबारम्म यस वर्षको स्वीकृत कोटाको खाद्यन्नमध्ये एक हजार दुईसय क्वीन्टल मात्र ढुवानी भएको बताउनुभयो ।
अब त्यसलाई चाँडो ढवानी गर्ने व्यवस्थाका लागि माग गरिएको आचार्यले बताउनुभयो । यस वर्ष नेपालगंज र सुर्खेतबाट दश हजार क्वीन्टल खाद्यन्न कोटा निर्धारण गरिएको उहाँको भनाई छ । पैदल मार्गबाट ढुवानी हुनु पर्ने खाद्यन्नको अबस्था योभन्दा अझै नाजुक रहेको बताइएको छ । गतिलो किसिमले खाद्यन्न ढुवानी हुन नसकेको कारण चार महिनादेखि जनतालाई खाद्यन्न बिक्री गर्न नसकिएको बताउनुभयो ।
बैठकले तत्काल खाद्यन्न ढुवानी गर्ने भएको निर्णय लिमिटेड र कर्णाली प्रदेश सरकारलाई पठाइएको पनि उहाँले बताउनुभयो । शुक्रवारबाट जनताले पाउने कोटाको पचास प्रतिशत मात्र खाद्यन्न बिक्री गर्ने भनेपछि स्थानीयले बिरोध जनाउँदा सिमकोट गाउँपालिकाका १ र २ नम्बर वडाका वासिन्दालाई बिक्री गरेर रोकिएको छ । हाल लिमिटेडको हुम्ला शाखामा एक हजार क्वीन्टल खाद्यन्न मात्र मौज्दात रहेको छ ।
दैनिक सिता एयरले दुईदेखि तीन उडानबाट खाद्यन्न ढुवानी गर्दैआएको छ । बैठकमा सहभागी सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले अब लिमिडेटको केन्द्रीय कार्यलयमा यो विषयलाई लिएर डेलिगेशन जाने बताउनुभयो । उहाँले खाद्यन्न ढुवानीको जिम्मा पाएर पनि चाँडो ढुवानीको व्यवस्था गर्न नपाउँदा जनताले खाद्यन्न समस्या भोग्नुपरेको बताउनुभयो ।