विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान
गोरखापत्र समाचारदाता
काठमाडौ, माघ ५ गते । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले विश्व कीर्तिमानी युवा विकर्णकुमार श्रेष्ठलाई ‘विश्व कीर्तिमान’को प्रमाणपत्र प्रदान गर्नुभएको छ । मन्त्री गहतराजले विश्वमै पहिलो पटक ९० मिनेटसम्म पानीमाथि पद्माशन गरेर नेपाली युवा श्रेष्ठले विश्व कीर्तिमान राख्न सफल हुनुभएकोमा उक्त प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
कोलास्टिक फाउन्डेसनद्वारा धुलिखेलमा सन् २०२१ को अगस्ट २ मा आयोजित कार्यक्रममा श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्मासनमा बसेर शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सो अवसरमा मन्त्री गहतराजले श्रेष्ठको कामले अन्य युवा पनि प्रेरित हुने भन्दै आगामी दिनमा पनि
प्रेरणादायी काम गर्न शुभकामना दिनुभयो । कोलास्टिक फाउन्डेसनका अध्यक्ष प्रज्वल भण्डारीका अनुसार श्रेष्ठले कायम गर्नुभएको यो रेकर्ड विश्वमा नै पहिलो हो ।