काम गरे आफ्नै देशमा मनग्य आम्दानी
नवीन शिशिर विक
बागलुङ, माघ ६ गते । बागलुङको काठेखोला गाउँपालिका– २ भीमापोखरा डहरेका बलबहादुर केसीको जीवनको ऊर्जाशील बाह्र बर्ष रोजगारीको क्रममा साउदीमा बित्यो । छरछिमेकमा जान्ने सुन्ने, समाजसेवी, नेताहरुलाई काम मिलाउन आग्रह गरे पनि पार नलागेपछि उहाँ साउदी साउदी हान्निनुभयो । साउदीमा रहँदा उहाँले भेडा गोठालोको काम गर्नुभयो ।
आफ्नो गाउँघरमा गाईभैसी, भेडा, बाख्राको गोठालो गर्दा सानो मान्छे गनिने, इज्जत नहुने सोच, साउदी पुगेपछि उहाँमा परिवर्तन भयो । उहाँले व्यवसायिक भेडा बाख्रा कसरी पाल्न सकिन्छ भन्ने शिक्षा प्राप्त गरेर नेपाल फर्कनुभयो । गाउँमा कामविहिन भएर साउदी पुग्नु परेको पीडा बिर्सन उहाँले आफ्नै ठाउँमा स्वरोजगार बन्ने आँट गर्नुभयो ।
केसी नेपाल फर्केर अहिले आफ्नै गाउँमा आधुनिक खोर निर्माण गरी व्यवसायिक बाख्रा पालन थाल्नुभएको छ । स्थानीय र बोयर जातका गरी ४५ वटा बाख्रा उहाँका छन् । विगत तीन बर्षदेखि केसीले बाख्रा पालन व्यवसाय सुरु गर्नुभएको हो । खोर निर्माण तथा बाख्रा खरिद गर्दा करिव १५ लाख रुपियाँ लगानी भएको केसीले बताउनुभयो । उहाँले बार्षिक २० वटासम्म बोका विक्री गर्दैआउनुभएको छ । एउटा बोका २० देखि ३० हजार रुपियाँसम्म विक्री हुन्छ ।
खसी बोका उत्पादन गर्नसके बजारको कुनै समस्या भएको उहाँले बताउनुभयो । साउदी जानुअघि कामविहिन भएर गाउँ डुल्थे’ केसीले भन्नुभयो– ‘साउदी गएपछि मेहन र परिश्रम गरे आफ्नै ठाउँमा आम्दानी गर्न सक्ने शिक्षा प्राप्तभयो । कुनै पनि कामलाई सम्मान गर्न सके त्यसले जीवन जिउने कला सिकाउने केसीको भनाई छ । केसीलाई अहिले गाउँ डुल्ने फुर्सद छैन ।
‘पहिलो गोठाले जीवनलाई गलत ठानियो’ उहाँले भन्नुभयो– ‘सबैले सबैको कामलाई सम्मान गरौँ, काम सानो ठूलो हुँदो रहेनछ ।’ केसीले कृषि तथा पशुपालन फर्म दर्ता गरेर सञ्चालन गर्नुभएको छ । वडा कार्यालय र गाउँपालिका कार्यालयले ५०–५० हजार रुपियाँ आर्थिक सहयोग गरेको थियो । उक्त रकमबाट खोर व्यवस्थापन तथा तारबार गरेको उहाँले बताउनुभयो ।
अहिले बाख्राको संख्या बढाउनेतर्फ ध्यान केन्द्रीत गरेको केसीको भनाई छ । करिव दुईसय बाख्रा पाल्ने लक्ष्य रहेको छ । केसीले दुईवटा उन्नत बोयर जातको बोका लिएर उन्नत जातका बाख्राको संख्या वृद्धि गर्न थालेको बताउनुभयो ।