शीतलहरसँगै चिसो बढ्दै
गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ७ गते । नेपालको तराई भेगमा भने यति बेला हुस्सु, कुहिरो, शीतलहरसँगै पानी पार्ने गरी बादल लागेपछि जनजीवन कष्टकर बनेको छ । यति खेर नेपालका अधिकांश भूभागमा बादल लागेको छ । पश्चिमी, मध्य भेगका केही स्थानमा वर्षा पनि भएको छ । कतिपय उच्च हिमाली भेगमा हिमपात भइरहेको छ । तराईमा भने हुस्सु, कुहिरो र शीतलहरको चिसोमाथि बदली थपिँदा त्यहाँको मौसम थप चिसो भएको छ ।
तराई भेग छुने विभिन्न भूभागमा पछिल्लो समय अधिकतम र न्यूनतम तापक्रम दुवै घटेर चिसो बढाएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमको धनगढीमा बुधबार १०.५ डिग्री सेन्टिग्रेड तापक्रम रहेकामा बिहीबार बिहान १०.४ डिग्री सेन्टिग्रेड पुगेको थियो । त्यस्तै गरेर लुम्बिनी प्रदेशको नेपालगञ्जमा बुधबार ९.६ डिग्री सेन्टिग्रेड तापक्रम रहेकामा बिहीबार ह्वात्तै घटेर ६.८ डिग्रीमा झरेको छ ।
त्यसैगरी सोही प्रदेशकै भैरहवामा १० डिग्रीबाट घटेर ७ डिग्री सेन्टिग्रेड पुगेको छ । मधेस प्रदेशको सिमरा, जनकपुर र विराटनगरमा एक डिग्री आसपास न्यूनतम तापक्रम पछिल्लो २४ घण्टामा बढेको देखिए पनि बिहीबार दिउँसोबाट तापक्रममा गिरावट आएको जनाइएको छ । पश्चिम तराईको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम हुस्सु–कुहिरो, शीतलहर र बदलीबाट प्रभावित छन् । त्यस्तै मध्य तराईको चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा पनि चिसो बढ्ने क्रममा छ । पूर्वी तराईको सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापालगायतका क्षेत्रमा हुस्सु, कुहिरो, शीतलहरसँगैको बदलीले थप चिसो बढाएको छ । हुस्सु र कुहिरो बदलीका समयमा केही कम भए पनि त्यसले बढाएको चिसो कम हुन सकेको छैन ।