खुला |

जिल्ला प्रशासन कार्यालय सल्यानमा कर्मचारी अभाव

प्रतीक इच्छुक शर्मा
सल्यान, माघ ७ गते । जिल्ला प्रशासन कार्यालय सल्यानमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दी अनुसारका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही लाई दिने सेवामा समस्या भएको कार्यलयले जनाएको छ ।

कार्यालयमा प्रजिअसहित २२ जनाको दरबन्दी रहेकामा हाल १५ मात्र कार्यरत छन् । पछिल्लो समय जिल्ला प्रशासन कार्यलय बाट नागरिकता लिने सेवाग्राहीको भीड बढेपछि कर्मचारी अभावमा सेवा प्रवाहमा दिनहुँ समस्या हुँदै आएको छ ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले दरवन्दी अनुसार कर्मचारी नहुदा समस्या भएको बताउनुभयो । उहाँका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी एक जना, नागरिकता फाँटका एक प्रशासकीय अधिकृत, नायब सुब्बा दुई, लेखापाल एक र खरिदार दुईको दरबन्दी खाली छ ।

कार्यलयमा कर्मचारी अभाव भएपछि कार्यलय सहयोगीहरु समेतलाई प्रशासनले गर्ने काममा लगाइएको छ । प्रजिअ आचार्यले भन्नुभयो धेरै सेवाग्रही आउनुहुन्छ, कर्मचारी अभावमा काममा ढिला भैदिने गर्छ, साझ अबेरसम्म बसेर पनि हामी काम सेवाग्राहीको काम गरिरहेका छौं ।

कर्मचारी पदपूर्तिका लागि चार जनाको लोकसेवा मागि सकिएको र मन्त्रालयमा पत्राचार गरिसकेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले दरबन्दी अनुसार कर्मचारी नहुँदा काममा समस्या हुने गरेको बताउनुभयो ।