खुला | प्रदेश |

प्यूठानमा मास्कविना सार्वजनिक स्थानमा प्रवेश निषेध

सलिम अन्सारी
बिजुवार, माघ ७ गते । प्यूठानमा मास्क नलगाए सार्वजनिक स्थलमा प्रवेश नपाइने भएको छ । कोरोना भाइरसको तेस्रो भेरियन्ट फैलिएसँगै सुरक्षा मापदण्डअनुसार मास्क नलगाउनेलाई सार्वजनिक स्थलमा प्रवेश निषेध गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर जिल्लाका सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो । जिल्ला प्रशासनले सुरक्षा मापदण्ड अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ ।

कार्यालयद्वारा जारी भएको सुचनाअनुसार जिल्ला कार्यालय, होटेल, रेष्टुरेण्ट, खेलमैदान, पार्कलगायतका स्थानमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश नदिइने प्रशासन कार्यालयले जनाएको छ ।

कोरोना भाइरसबारे सचेतना फैलाउन प्रहरीले माइकिङ गर्न थालेको छ । कोरोनाका लक्षण र रोकथामका उपायहरुबारे स्थानीयलाई सचेतना फैलाउने उद्देश्यले माइकिङ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख, प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।