कैलालीमा १८ वर्षपछि लक्ष्मण सारस देखिए
अविनाश चौधरी
धनगढी, माघ ७ गते । कैलालीमा १८ वर्षपछि लक्ष्मण सारस देखापरेका छन् । टीकापुर नगरपालिकाको श्रीलङ्का टापुस्थित कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा १४ वटा लक्ष्मण सारस देखापरेका हुन् । यही वर्ष सो क्षेत्रमा पहिलो पटक श्वेतमाथा कलहाँस पनि देखिएका थिए । नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको नेपाल पंक्षी संरक्षण सङ्घ (बीसीएन) मा कार्यरत चराविद हिरुलाल डङ्गौराले बताउनुभयो ।
उहाँका अनुसार कैलालीमा लक्ष्मण सारस देखिएको यो दोस्रो पटक हो । यसअघि सन २००६ मा संरक्षणकर्मी विजयराज श्रेष्ठले भजनी नगरपालिकाको मन्त्रीफाँटामा सो प्रजातिका चरा अभिलेख गर्नुभएको थियो । त्यसपछि यो जिल्लामा लक्ष्मण सारस देखिएका थिएनन् । १८ वर्षपछि कर्णाली नदीको बगरमा पुनः देखिएका हुन ।
बीसीएनकाअनुसार नेपालमा सबैभन्दा पहिले १९ औं शताब्दीमा तराई, हेटौडा र काठमाडौंं उपत्यकामा लक्ष्मण सारस देखिएका थिए । नेपालमा पाइने चार प्रजातिकामध्ये कालो टाउके र सारस विश्वमै दुर्लभ मानिन्छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) को रातो सूचीमा रहेको संवेदनशील प्रजाति सारस नेपालको पश्चिम तराईको लुम्बिनी क्षेत्रमा वर्षभरि पाइने रैथाने चरा हो ।
तर, कालो टाउके सारस भने आक्कलझुक्कल देखिने गरे पनि हुम्लाको लिमीमा प्रजनन गरेको अभिलेख छ । लक्ष्मण र क¥याङ्कुरुङ सारस भने हिउँदे आगन्तुक तथा बटुवा चरा हुन । उत्तरी ध्रुवमा हिमपात भएपछि अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा यी दुई प्रजातिका सारस चरा बर्सेनि नेपाल हुँदै भारत र श्रीलङ्कातर्फ जानेगरेको डङ्गौराले बताउनुभयो । सोक्रममा ती चराहरु अनुकूल स्थान पाएमा नेपालमा पनि बस्ने गरेका छन् । संघले मुस्ताङमा गरेको अध्ययनअनुसार हरेक वर्ष करिब १५ हजार क¥याङकुरुङ सारस कालीगण्डकीको आकाश हुँदै नेपाल भित्रिने गरेका छन् ।
सारसलाई सिमसार क्षेत्रको सूचक प्रजाति मान्ने गरिएको चराविद डङ्गौराले बताउनुभयो । उहाँका अनुसार सारसको उपस्थितिले सिमसार क्षेत्र र पारस्थितीय प्रणाली स्वस्थ रहेको बुझाउने गर्दछ । यो प्रजातिको चराले सर्पको सङ्ख्या नियन्त्रण गर्नुकासाथै कृषिबालीका लागि हानिकारक शङ्खेलगायतका अन्य प्रजातिका कीरा खाएर अन्न उत्पादनमा सहयोग गर्नेगरेका छन् ।
यसैगरी बाघ, चितुवाजस्ता हिंसक जनावर नजिक आउन लागेमा पनि सारसले कराएर जानकारी दिने र आक्रमण हुनबाट जोगाउने गर्दछन् । खेतीपातीमा कीटनाशक विषादीको प्रयोग, जल क्षेत्रको अत्यधिक र अव्यवस्थित उपयोगले सिमसार क्षेत्र मासिंदै गएको छ ।
सिमसारमा परेको असरले सारस चरालाई असर परिरहेको छ । बासस्थानको रुपमा रहेको सिमसार क्षेत्र तीव्र रुपमा मासिंदै जानु नै सारसको लागि चुनौती रहेको डङ्गौराले बताउनुभयो । ‘यसैगरी, चोरी सिकार, प्रदूषणलगायतका कारणले पनि सारस समस्यामा परेका छन्’, उहाँले भन्नुभयो ।