उपत्यकामा यातायात सामान्य रूपमा सञ्चालन, मापदण्ड पालनामा भाेलिबाट कडा गरिने
काठमाडौं, माघ ७ गते । काठमाडौं उपत्यकाको यातायात सामान्य रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नौ हजार सात गाडी भित्रिएको छ भने आठ हजार ९३ वटा गाडी बाहिरिएका छन् ।
कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै शुक्रबार राति १२ बजेदेखि जोर–विजोर प्रणाली लागू भएसँगै ती गाडीहरु बाहिरिएको र भित्रिएको हो । उपत्यका भित्रिने र बाहिरीने गाडीमा त्यस्तो प्रभाव नपारेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सन्जिव शर्मा दासले बताउनुभयो ।
उहाँका अनुसार तीन जिल्लाका सिडिओहरुको बैठकले सवारीसाधनमा जोर–विजोर लागू गर्ने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार सवारी साधनहरु सञ्चालनमा रहेको उहाँको भनाइ छ । ‘यातायातमा त्यस्तो प्रभाव भने परेको छैन,’ प्रवक्ता दासले भन्नुभयो ।
उपत्यकाबाट बाहिरीने र भित्रिनेमा मोटरसाइकल, बास, ट्रक, एम्बुलेन्सलगायतका गाडीहरु रहेका छन् । उहाँले भन्नुभयो,‘आज अरु दिन जस्तै गाडीहरु चलेका छन्, संक्रमण बढ्दै गएमा भोलिका दिनमा थप कडा हुन्छ, अहिले भने यातायातको अवस्था समान्य नै रहेको छ ।’
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको मापदण्ड उल्लंघन गरी सवारी चलाउनेलाई सरकारले गरेको निर्णयअनुसार सजाय र जरिवाना गर्ने ठाउँमा ट्राफिक प्रहरीे पुगेको छैन । उहाँले बताउनुभयो,‘ अहिलेसम्म सम्झाई बुझाई गरी छाडिएको छ, भोलिका दिनमा नियम उल्लंघन गरेमा कारबाही गर्छौ ।’ स्मार्ट लकडाउन प्रभावकारी बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरी लागेको उहाँले बताउनुभयो ।