मध्यपहाडी लोकमार्ग आसपासमा बढ्दै बजारीकरण
नवीन शिशिर विक
बागलुङ, माघ ९ गते । राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्ग पश्चिम बागलुङको लागि वरदान सावित भएको छ । लोकमार्गले जिल्लाकै दुर्गम मानिने निसी–भलकोट जिल्ला सदरमुकाम र पूर्वी रुकुमसँग सिधा सडक सञ्जालमा जोडिए पछि दुर्गमको परिचय नै बदलिएको छ । लोकमार्ग बनेपछि बजारीकरण पनि भएको छ ।
निसी गाउँपालिकको मुख्य सडकखण्ड नै मध्यपहाडी लोकमार्ग हो । निसी दुर्गमको परिचय बद्लै सुगम र सेवा सुविधाको विस्तार गर्दैगएको छ । लोकमार्गको कालोपत्रे सडक नै निसीका जनतालाई जिल्ला, प्रदेश र संघीय राजधानीसँग जोड्ने माध्यम बनेको छ । कुनै दिन जिल्ला सदरमुकामसम्म जान तीन चार दिनको पैदल यात्रा गर्न बाध्य निसीवासी अहिले एकै दिनमा पुग्न भ्याएका छन् । सडक बनेपछि सञ्चार सेवा पनि विस्तार भएको छ ।
पश्चिम बागलुङलाई लोकमार्गले जोडेपछि लोकमार्ग आसपासमा सहरीकरण बढ्दैगएको छ । लोकमार्ग आसपास क्षेत्रको जग्गाको मुल्यसमेत बढदैगएको निसीखोला गाउँपालिका– १ का वडाध्यक्ष इन्द्रबहादुर मल्लले बताउनुभयो । सडक सञ्जाल विस्तार हुनुअघि सित्तैमा गरीखान पाईने जग्गाको भाउ अहिले आकासिएको छ । समथर खेतबारीमा पक्कीघर बन्न थालेका छन् ।
लोकमार्गले यहाँको दश स्थानीय तहमध्ये बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका जोडेको छ ।
बागलुङ बजारको उपल्लचौरदेखि सुरु भएको लोकमार्गले निसीको पातिहाल्नेसम्म पुग्दा काठेखोलाको अक्षते, बिहुँ रिजालचोक, घाँडाबाँधे, गलकोटको हटिया, बडिगाडको खर्वाङ, खौरा, खारा, न्वारा, भिमगिठे, हाँडिखोला, रिघाफेदी, ढोरपाटन नगरपालिकाको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको देविस्थान, ढुँवाखोर, झिवाखोला, जुग्जाखोला, कानाबगर, बडावनखोला, निसी, भल्कोट क्षेत्रमा बजारीकरण विस्तार भएको छ ।
लोकमार्ग विस्तार भएपछि जनतालाई सरकारी सेवा सुविधाको उपयोग, दैनिक उपयोग्य बस्तुको खरिद विक्री र गाउँको उत्पादनलाई बजारीकरणमा सजिलो भएको बडिगार्ड गाउँपालिका– ३ का वडाध्यक्ष खडकबहादुर पुनले बताउनुभयो ।
पहुँच मार्गलाई ध्यानमा राखेर जिल्ला सदरमुकामदेखि निसीपाती हाल्नेसम्म युवाहरुले लोकमार्ग आसपासमा नयाँ रेष्टुराँ, होटल, माछा तथा बंगुर फर्म, गाईभैसी फर्म सञ्चालन गरेका छन । लोकमार्गलेको पहुँच विस्तार भएपछि बागलुङ र रुकुमको सीमा पातीहाल्ने सीमा विवाद चर्किएको छ । पाती हाल्ने क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदा दुवै जिल्लाले आफ्नो दावी गरेका हुन ।
लोकमार्ग पश्चिम बागलुङको लागि बारदन नै भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर मिलन श्रेष्ठले बताउनुभयो । जिल्लाका अन्य स्थानीय तह पनि लोकमार्ग पहुँचबाट टाढा छैनन । लोकमार्गले नछोएको स्थानीय तहमा कालीगण्डकी करिडोर विस्तार भएको छ । ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले नजिकको स्थानबाट लोकमार्गसम्म पहुँच मार्ग विस्तार गरेका छन् ।