पाँच जिल्लाको दुई सय हेक्टरमा कपास खेती विस्तार
सिराज खान
नेपालगञ्ज, माघ ९ गते । कपास खपत गर्ने उद्योग र कारखाना बन्द भएपछि क्रमशः साँघुरिंदै गएको कपास खेतीको विस्तार पुनः शुरु गरिएको कपास विकास समिति खजुराले जनाएको छ ।
हाल साँघुरिएर बाँके र दाङको दुई जिल्लाका ८० हेक्टरमा मात्र सीमित हुन पुगेको कपास खेतीलाई बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरको २०० हेक्टरमा विस्तार गर्न थालिएको कपास विकास समिति खजुराका कपास विकास अधिकृत विजयकुमार जोशीले बताउनुभयो ।
केही वर्ष पहिलेसम्म पश्चिम नेपालका पाँच जिल्लाका दुई हजार बढी हेक्टरमा कपास खेती हुने गरेकोमा विभिन्न कारणले खुम्चिएर दुई जिल्लाका ८० हेक्टरमा पुगेकाले यस वर्षबाट फेरि पाँचवटै जिल्लामा सो खेती विस्तार गर्न लागिएको बताउनुभयो ।
हरेक वर्ष क्षेत्रफल बढाउनेगरि यस वर्ष २०० हेक्टरमा विस्तार गरी खेती गर्न लागिएको कपास विकास अधिकृत जोशीको भनाइ छ । भारतीय कपासलाई विस्थापित गर्दै नेपाली कपासको उपयोगमा जोड दिने नीति बनाएर समितिले काम शुरु गरिसकेकोले बजारको पनि समस्या नरहेको उहाँले बताउनुभयो ।
कपास विक्रीका लागि समितिले देशका प्रमुख कपास उद्योग र सिरक डसना व्यवसायी महासंघसँग छलफल गरेर कपास विक्रिको वातावरण बनाइसकेकोले उत्पादन बढाउने कार्यमा अगाडि बढेको हो । गत महिना मात्रै देशभरिका कपास उद्योगका सञ्चालक र सिरक डसना व्यवसायीलाई नेपालगञ्ज बोलाएर समितिले कपास खरिद विक्रीका सम्बन्धमा सहमति बनाएको थियो ।
देशका अधिकांश कपास उद्योग र सिरक डसना उद्योगले बर्सेनी करिब १० अर्ब जतिको भारतीय कपास प्रयोग गर्दैआएकोमा अबदेखि गुणस्तरीय स्वदेशी कपास प्रयोग गर्ने वातावरण बनेको कपास विकास अधिकृत जोशीले बताउनुभयो ।
दुई दशकअघि यस क्षेत्रका ८ हजार किसानले गरिरहेको कपासखेती १९० जना किसानमा मात्र सीमित हुनपुगेको थियो । सो समयमा वार्षिक २२ सय मेट्रिक टन कपास खरिद गर्ने खजुरास्थित कपास विकास समितिले अहिले वार्षिक ८० देखि ९० मेट्रिक टन मात्रै कपास खरिद गर्दैआएको थियो । अब अर्को वर्षदेखि कम्तीमा दुईसय मेट्रिक टनभन्दा बढी कपास खरिद गर्ने लक्ष्य बनाइने समितिले जनाएको छ ।