खुला | प्रदेश |

कर्मचारीलाई कोरोना भएपछि मालपोत सेवा बन्द

नवीन शिशिर विक
बागलुङ, माघ १० गते । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कार्यालयका चार जना कर्मचारीको एन्टिजिन परीक्षण गर्दा कोरोना पुष्टि भएपछि अर्काे सुचना जारी नभएसम्मका लागि नियमित सेवा प्रवाह स्थगन गरेको हो ।

कार्यालयका अन्य कर्मचारीलाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको हुँदा घरमा एकान्तबास बस्दा कार्यालय सञ्चालन गर्न कर्मचारी अभाव भएपछि सेवा प्रवाह बन्द गरेको मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

माघ महिनाको सुरुवातसँगै बागलुङमा कोरोना तीव्र रुपमा फैलिएको छ । पुस अन्तिम हप्तासम्म नौ जनामा सीमित रहेको कोरोना माघको १० गतेसम्म ३३९ जना नयाँ संक्रमित थपिएका छन् । लक्षणसहितका शंकास्पद बिरामी सबैले परीक्षण गरेका छैनन ।

मौसमी रुघाखोकी भन्दै कोरोना परीक्षण नगर्नेको संख्या धेरै छ । जिल्लाको दश स्थानीय तहका ८५ वटा वडामध्ये १२ वटा वडा कोरोना उच्च जोखिममा सूचीकृत छ । यहाँका ३९ वटा वडा मध्यम र ३४ वटा वडा न्यून जोखिमको सूचीमा छ ।

बागलुङ नगरपालिकाको वडा– १, २, ३, ४, ५, ७, ८ र १३, ताराखोला गाउँपालिकाको वडा–३ र बडिगाड गाउँपालिकाको वडा–२ कोरोनाको उच्च जोखिम क्षेत्र हुन । ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।