बाणगंगा नगरपालिकामा दुई कानुन थपिए
जानु पाण्डे
कपिलवस्तु, माघ १० गते । कपिलवस्तुको बाणगंगा नगरपालिकाले दुई विधेयक पारित गरेको छ । नगरपालिकाको दशौँ नगरसभाले खानेपानी तथा सरसफाइ र वन व्यवस्थापन विधयेक पारित गरेको नगर उपप्रमुख चक्रपाणि अर्यालले बताउनुभयो ।
नगरपालिकाका सबै बस्तीमा स्वच्छ खानेपानीको पहुँचका लागि विधेयकले मार्गनिर्देश गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो । पालिकाका सबै वडामा खानेपानीको ओभरहेड ट्याङ्की निर्माणको अवस्थामा रहेको र सबै जनतालाई पहुँचमा ल्याउन पालिकाले नियमावली बनाएर योजनाहरु सञ्चालन हुने पन्थीले स्पष्ट पार्नुभयो ।
नगरपालिकाले वन व्यवस्थापनसम्बन्धी विधेयक पारित गरेपछि सामुदायिक वन र स्थानीय सरकारबीच विकास निर्माण र वन विकासका कार्यक्रम सञ्चालन गर्न सहज हुने नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले बताउनुभयो । सभाले यसै वर्ष बाढीका कारण क्षति भएका बस्तीमा राहत दिन नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
यसैगरी फोहाेरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माणका लागि समुदाय तथा संघ संस्थाको सहभागिता गराउने निर्णय गरेको छ । कोभिडको तेस्रो भेरियन्टबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्नसमेत अनुरोध गरेको छ ।