खुला |

कर्मचारीलाई सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन गुल्मीको सेवा बन्द

तिलाचन पाण्डे
तम्घास, माघ १० गते । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीलाई सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ ।

कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई सङ्क्रमण पुष्टि भएको र अन्यलाई समेत केही लक्षण देखापरेपछि परेकाले माघ ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

पछिल्लो समयमा कार्यालयमा सेवा ग्राहीहरुको भीडभाड पनि बढी भएकाले भीडभाडमा सेवा प्रवाह गर्दा थप जोखिम हुने भएकाले यस्तो निर्णय गरिएको पौडेलले बताउनुभयो ।

अत्यावश्यक सेवा लिन आउँदा खोप लगाएको कार्ड अनिवार्य रुपमा ल्याउनुपर्नेछ । बढी भीडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।

सोमबार मात्रै जिल्लामा ६६ जनामा सङ्क्रमण पुष्टि भएको र जिल्लामा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या २८८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । सङ्क्रमणका कारण जिल्लामा ९७ जनाको ज्यान गइसकेको छ ।