कपिलवस्तुमा सडकमै पाल टाँगेर कोरोना परीक्षण
जानु पाण्डे
कपिलवस्तु माघ १० गते । कपिलवस्तुमा कोरोनाको तेस्रो लहर फैलिएपछि सडकमै पाल टाँगेर कोरोना परीक्षण गर्न सुरु गरिएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले सोमवारदेखि जिल्ला सदरमुकाम तौलिहवाबाट निःशुल्क एन्टिजिन विधिबाट परीक्षण सुरु गरेको हो ।
पहिलो दिन १२७ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताउनुभयो । पहिलो दिन सकारात्मक सन्देश आएपछि जिल्लाका प्रमुख व्यापारिक क्षेत्रमा सडकमै कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन लागेको कार्यालयका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनुभयो ।
यता, जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २७१ पुगेको छ । जिल्लाका सबै पालिकामा सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालयले तथ्याङ्क प्रस्तुत गरेको छ । पछिल्लो सातामा मात्र जिल्लामा २ सय ४२ जनामा कोरोना सङ्क्रमित थप भएका छन् ।