राजमार्ग मर्मत गर्न माग गर्दै चक्काजाम
जनार्जन खत्री
सर्लाही, माघ १० गते । सर्लाहीको नवलपुर चोकका स्थानीयले भत्किएको पूर्व–पश्चिम राजमार्ग मर्मत गर्न माग गर्दै सोमबार दिउँसो केहीबेर राजमार्गमा चक्काजाम गरेका छन् ।
राजमार्गको कालोपत्रे उप्किएर धूलोका कारण आजित भएका नवलपुरबासीले तत्काल कालोपत्रे गर्न माग गर्दै यातायात ठप्प पारेका हुन् । ठेकेदारले टेलिफोनबाट तत्काल सडक मर्मत गर्ने प्रतिवद्धता जनाएपछि चक्काजाम खुलेको स्थानीयको भनाई छ ।
नवलपुरका स्थानीयले केही महिनाअघि पनि सडक मर्मतको माग गर्दै राजमार्ग अवरुद्ध पारेका थिए । त्यसबेला सामान्य रुपमा सडक मर्मत गरेर अलकत्रा हालिएपछि केही समय धूलोको समस्या समाधान भएको थियो । अहिले फेरि सडक भत्किएर अत्यधिक धुलो उड्ने गरेकाले सडक किनारमा व्यापार व्यवसाय गर्नै समस्या भइरहेको नवलपुर चोकका व्यवसायी दीपक श्रेष्ठले बताउनुभयो ।
सडकको धूलोले छेउछाउ घर भएका स्थानीयबासी र यात्रुहरु पनि मारमा परिरहेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुर चोकसहित नवलपुर बजारक्षेत्र, लालबन्दीस्थित बस्तीपुर क्याम्पस चोक, हरिवन नगरपालिकाको नयाँरोड लगायत स्थानमा राजमार्ग भत्किएर अत्यधिक धूलो उड्नेगरेको छ । यस्तै, लखन्देही खोलाको पुल पनि भत्किएको लामो समय भइसक्दा समेत मर्मत हुन सकेको छैन् ।
जिर्ण पुलमा सवारी साधनको लामो जाम लाग्ने गरेको छ । साँझको समयमा सो पुलमा सवारी साधन पास हुन घण्टौं लाग्नेगरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले भने हुस्सु लागेर कालोपत्रे गर्न उपयुक्त तापक्रम नभएकाले राजमार्गको खाल्डाखुल्डी पुर्न नसकिएको जनाएको छ । कार्यालयका प्रमुख दारोगाप्रसादले कालोपत्रे भर्न मिल्नेगरी घाम लाग्नासाथ खाल्डाखुल्डी पुर्ने काम सुरुहुने जानकारी दिनुभयो ।