खुला | प्रदेश |

मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

धीरेन्द्रप्रसाद साह
जनकपुर माघ १० गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा आउँदो बुधबार हुने राष्ट्रियसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका सूचना अधिकारी कृष्ण राउतले मतदानका लागि आवश्यक मतपत्रहरु छापेर आइसकेको र मतदानमा खटिने कर्मचारीलाई तालिम दिएर परिचालन गरिसकेको जानकारी दिनुभयो ।

प्रत्येक बुथमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी र दुई जना कार्यालय सहयोगीलाई परिचालन गरिने तयारी भएको उहाँले बताउनुभयो । यस निर्वाचनमा चार किसिमको क्लस्टर (समुह) का आधारमा यहाँ हरियो र रातो गरी दुई रङ्गको मतपत्र प्रयोग गरिनेछ ।

प्रदेशसभाका सदस्यले सेतो पानामा हरियो रङ्गको मतपत्रमा मतदान गर्नुहुने छ भने स्थानीय तहका प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षहरुले रातो रङ्गको मतपत्रमा मतदान गर्ने व्यवस्था मिलाइएको सूचना अधिकारी राउतले जानकारी दिनुभयो ।

कोभिड १९ सम्बन्धी केन्द्रीय निर्वाचन कार्यालयले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण पालनासाथ खोप लगाएका मतदातालाई मात्र मतदान गर्न दिइने उहाँले बताउनुभयो । कुनै मतदाता कोरोना संक्रमित भेटिएमा मतदानको लागि छुट्टै व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो ।

प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख, अध्यक्ष तथा उपप्रमख, उपाध्यक्षका लागि अलग–अलग दुुई वटा बुथ राखिएकोमध्ये एउटामा प्रदेशसभाका सदस्यहरुले मतदान गर्नुहुनेछ भने अर्काेमा नगरपालिका, गाउँपालिका प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षहरुले मतदान गर्नुहुने व्यवस्था गरिएको सूचना अधिकारी राउतले बताउनुभयो ।

मधेस प्रदेशमा रिक्त दुई जना राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रतिपक्षी दलबाट पाँच जनाले उम्मेदवारी दत्र्ता गराएका छन् । सुरुमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले केही दिनअघि मात्रै मधेस प्रदेशमा गठबन्धनको घोषणा गरिसकेको छ ।

प्रदेशमा महिलातर्फ नेकपा (माओवादी केन्द्र) का उर्मिला अर्याल, लोकतान्त्रिक समाजवादी पार्टीका रुपाकुमारी यादव र नेकपा (एमाले) का बिनादेवी साहले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै अन्यतर्फ जनता समाजवादी पार्टीका मोहम्मद खालिद सिद्धिकी र एमालेका उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेकपा एमाले र लोसपाबीच गठबन्धन भएसँगै अब मधेस प्रदेशमा चार जना उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुुनेछ । महिलातर्फ उम्मेदवारी दिनुभएका एमालेका बिनादेवी साहले लोसपाका रुपा यादवलाई समर्थन गर्ने र लोसपाले अन्य तर्फका एमालेका उस्मान अन्सारीलाई सहयोग गर्ने सहमति भएको छ ।

प्रदेश सरकारका प्रमुख सत्तारुढ पार्टी जसपाको मतभार १९८८ छ भने सत्तारुढ काँग्रेसको २३७०, माओवादी केन्द्रको ११९४ र नेकपा एकिकृत समाजवादीको ७५० मतभार छन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको १५६० र एमालेको ९४२ मतभार मात्र छ । मतभारले सत्तारुढ दलकै बर्चस्व कायम रहने अनुमान गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ४ स्थित महेन्द्रनारायण निधि भवनमा आउँदो १२ गते बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रियसभा निर्वाचनमा १०४ जना प्रदेशसभा सदस्य, आठ वटै जिल्लाका स्थानीय तहका प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्ष समेत गरी ३७२ मतदाताले मतदान गर्नेछन । राष्ट्रिय सभाका सदस्यहरु सुमनराज प्याकुरेल र शशिकला दाहालको पदाबधि सकिएपछि ती दुई सदस्यका लागि मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचन हुन लागेको हो ।