खुला |

जिप्रका चौताराका सेवा बन्द

चित्र मिजार
सिन्धुपाल्चोक, माघ ११ गते । जिल्ला प्रशासन कार्यालय चाैताराका चार जना कर्मचारी कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण भएपछि आउँदो आइतबारसम्म सेवा बन्द गरिएको छ ।

नयाँ नागरिकता वितरण, प्रतिलिपि नागरिकता वितरण, प्रमुख जिल्ला अधिकारीले हस्तक्षर गर्नुपर्ने पेन्सन पटा, नामसारी, जन्म मिति, नाम थर सच्याउन खडा गर्नुपर्ने पर्चा, आदेश, सिफारिसका सेवाहरु बन्द गरिएको प्रशासकीय अधिकृत नारायण लघुले जानकारी दिनुभएको छ ।

उक्त कार्यालयका अन्य कर्मचारीमा सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखा परिरहेको छ । उनीहरुको पनि स्वास्थ्य अवस्था परीक्षण गरेर सेवा प्रवाह हुने जनाइएको छ । अहिले सिन्धुपाल्चोकका विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु ओमिक्रोनसँग मिल्दोजुल्दो लक्षणसहित बिरामी हुन थालेपछि सो कार्यालयहरुले दिँदै आएको सेवा बन्द गरिन थालिएको छ ।

अहिले सिन्धुपाल्चोकमा ३०५ जना सक्रिय सङ्क्रमित छन् । पीसीआर, एन्टेजेन लगायतका परीक्षणबाट ओमिक्रोन पुष्टि भएका उक्त सङ्ख्या पुष्टि भए पनि ओमिक्रोनसँग मिल्दोजुल्दो लक्षणका बिरामी दिनहुँ बढिरहेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उच्च स्वास्थ्य सतर्कता अपनाउन जिप्रकाले सबैलाई आग्रह गरेको छ ।