मालपोत कार्यालय हरिवनका कर्मचारीमा कोरोना सङ्क्रमण
जनार्जन शर्मा
सर्लाही, माघ ११ गते । सर्लाहीको हरिवनस्थित मालपोत कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयकै कर्मचारीहरुमा सङ्क्रमण देखिन थालेको हो ।
मालपोत कार्यालयका सात जान कर्मचारीमा कोरोना सङ्क्रमित भएका छन् । कार्यालयका १७ जना कर्मचारीमा गरिएको कोरोना परीक्षणमा सात जनामा कोरोना पोजेटिभ देखिएको कार्यालयका प्रमुख रमेश गौतमले जानकारी दिनुभयो ।
त्यस्तै अन्य दुई जना कर्मचारी ज्वरो आएका कारण परीक्षणका लागि आउन नसकेको गौतमले जानकारी दिनुभयो । मालपोत कार्यालयका १९ जना कर्मचारी कार्यरत हुनुहुन्छ ।
परीक्षण गरिएकामध्ये सात जनामा सङ्क्रमण देखिएपछि एक साताका लागि कार्यालयको सेवा बन्द गर्ने तयारी भइरहेको कार्यालय प्रमुख गौतमले बताउनुभयो ।
मालपोत कार्यालय हरिवन सेवाग्राहीको अत्यधिक भीडभाड हुने कार्यालयमध्येमा एक पर्दछ । यसअघि जिल्ला प्रशासन कार्यालय मलङ्गवाका १२ जना कर्मचारीमा एकैसाथ कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।
सर्लाहीमा अहिले कोरोना सङ्क्रमणसँग मिल्ने लक्षण भएका बिरामीहरु अत्यधिक बढिरहेका छन् । प्रत्येकजसो घरमा ज्वरो आउने, घाँटी दुख्ने, रुघा खोकी लाग्ने, टाउको दुख्ने जस्ता लक्षण भएका बिरामी भएपनि कोरोना परीक्षण भने हुन सकेको छैन ।
कोरोना सङ्त्रलमणदर दिनहुँ बढ्दै गएपनि जिल्लाको सार्वजनिक स्थलमा मानिसको भीडभाड कम हुन सकेको छैन । मानिसहरु सडकमा बिनामास्क हिँड्डुल गरिरहेका छन् ।