खुला | प्रदेश |

कुहिरोको कारण करिब एक टन मह नोक्सानी

जानु पाण्डे
कपिलवस्तु, माघ १२ गते । घाम नलाग्ने र कुहिरोका कारण कपिलवस्तुमा मह उत्पादन घट्ने भएको छ । लगातार चिसो भएपछि घारमा सञ्चित भएको मह माहुरीले खाएपछि कृषकहरु मर्कामा परेका छन् । नियमित घाम नलाग्दा र शीतलहरका कारण कुल उत्पादनको आधा भाग माहुरीको आहारामा खर्च हुनेभएको छ ।

अहिले तोरी र तोरा (सर्स्यु) फुल्ने सिजन छ । यो समयमा माहुरीलाई प्रयाप्त मात्रामा फूलको रस जम्मा गर्न सक्ने समय हो । मङ्सिरदेखि माघसम्म बस्तीमा तोरी फुल्ने हुँदा १५ देखि २० दिनमा मह काढ्ने गरिन्छ । तर पुसको दोस्रो सातादेखि मौसम अनुकूल छैन । जसकाकारण कपिलवस्तुमा मात्र एक टन मह महुरीले खाएर नष्ट भएको खनाल माहुरी पालन उद्योगका सञ्चालक रामप्रसाद खनालले बताउनुभयो ।

बाणगंगा नगरपालिकाका अर्का कृषक बाबुराम खनालका अनुसार सिजनमा २ सातामा मह काढ्न सकिने भए पनि यो पटक काढ्न नमिल्ने भएको छ । चिसो अझै बढ्दै गयो भने कृषकले आहारा खुवाउनेपर्ने अवस्था आउनसक्ने बताइएको छ । घारभित्रको मह सकिएमा माहुरीले बच्चा खाएर नष्ट गर्ने समस्या आउनसक्ने देखिन्छ ।

तोरीको फूल खसेपछि स्रोतको कमी हुने भएकाले उत्पादन कम हुने बताइएको छ । कपिलवस्तुमा ३२ जना माहुरीपालक कृषकले व्यवसायिक रुपमा माहुरी पाल्दैआएका छन् । एक घार माहुरीबाट वार्षिक औसत ३० केजी मह उत्पादन हुनेगरेको छ । जिल्लामा मात्र २ हजारभन्दा बढी घार माहुरी पालिएकाे बताइएको छ ।