सात वटा सरकारी गाडीमा तोडफोड, ६ जना पक्राउ
विजयकुमार साह
ढल्केबर, माघ १२ गते । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाममा सात वटा सरकारी गाडीमा तोडफोड गरेर क्षति पु¥याएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार भएको राष्ट्रिय सभा चुनाव बिथोल्ने उद्देश्यले गरिएको प्रदर्शनको क्रममा जनमतका कार्यकर्ताले सो सरकारी गाडीहरु तोडफोड गरेर क्षति पु¥याएका हुन् ।
जनकपुरधामको पिडारी चोकमा जनमतका कार्यकर्ताले लाठी र ढुङ्गामुढा प्रहार गरेर जनता समाजवादी पार्टीका प्रदेश सभासदस्य अशोक यादव सवार गाडीमा तोडफोड गरेका छन् । जनमतका कार्यकर्ताले गरेको लाठी प्रहार प्रदेश सभा सदस्य यादवको हात पनि भाँचिएको छ ।
प्रदेश २–०३–०१ झ ००२०, प्रदेश २–०१ झ–००८० र ना १ झ १६७४ नम्बरको गाडीसहित सात वटा गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता दीपककुमार रायले बताउनुभयो । झडपका क्रममा जनमतका आठ जना कार्यकर्ता र चार जना सुरक्षाकर्मी घाइते भएको उहाँले जानकारी दिनुभयो ।
सरकारी गाडी तोडफोडमा संलग्न ६ जना जनमतका कार्यकर्तालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता रायले बताउनुभयो । राउतका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका नगरप्रमुख गणेशप्रसाद साह र उममेयर रेणुका पौडेल पनि घाइते हुनुभएको छ ।
जनमतका कार्यकर्ताले किसान आन्दोलनको निर्धारित कार्यक्रमअन्तर्गत जनकपुरधामस्थित महेन्द्रनरायण निधि भवनमा राखिएको मतदान केन्द्र अगाडि ‘पहिला मल देऊ, त्यसपछि मत खसाल’ भन्दै प्रदर्शन गरेका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
जनकपुरधामको विभिन्न स्थानमा जनमतका कार्यकर्ताले गरेको प्रदर्शनलाई तथा स्थितिलाई नियन्त्रणमा लिनेक्रममा जनमतका कार्यकर्ता तथा प्रहरीबीच झडप समेत भएको छ । घाइते कार्यकर्ता तथा प्रहरीेको उपचार प्रादेशिक अस्पताल जनकपुरधामसहित अन्य निजी स्वास्थ्य संस्थाहरुमा भइरहेको छ ।
यसैगरी, जनमत पार्टीका कार्यकर्ताले चिकित्सकमाथि समेत आक्रमण गरेका छन् । बर्दिबास जाँदैगर्दा पिडारी चोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सतीश साहमाथि जनमतका कार्यकर्ताले आक्रमण गरेका थिए ।
आक्रमणमा परी घाइते हुनुभएका मेसु साहको मुखमा ८ वटा टाँका लागेको छ । प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदैगर्दा उहाँकोे गाडीमाथि आक्रमण भएको थियो ।