श्रेष्ठ दम्पतीद्वारा स्वास्थ्यचौकीलाई जग्गा दान
ललिता साह
बोदेबर्साइन (सप्तरी), माघ १२ गते । सप्तरीका एक दम्पतीले करोडौं मूल्य पर्ने जग्गा यहाँको एक स्वास्थ्य चौकी निर्माणका लागि दान गर्नुभएको छ । आफू जन्मेको ठाउँको विकास हुनुपर्छ र यहाँका नागरिकलाई स्वास्थ्य चेकजाँच गराउन सहज होस भन्ने उद्देश्यले जग्गा दान गरेको दम्पतीकाे भनाइ छ ।
सप्तरीको खड्क नगरपालिका कल्याणपुरका गोपाल श्रेष्ठ र उहाँको श्रीमती मोमिला श्रेष्ठले सप्तरीको विष्णुपुर गाउँपालिक १ थलहीमा स्वास्थ्य चौकी निर्माण गर्न दुई कठ्ठा क्षेत्रफल जग्गा पालिकालाई प्रदान गर्नुभएको पालिकाका अध्यक्ष लीलाम्बर यादवले जानकारी दिनुभयो ।
पालिका जाने मूख्य सडकमै पर्ने सो जग्गाको मूल्याङ्कन झण्डै दुई करोड रुपियाँ पर्ने स्थानीयको भनाइ छ । झण्डै १२ हजार जनसंख्या भएको वडा– १ मा यसअघि स्वास्थ्य चौकी नहुँदा यहाँका नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बन्चित हुनुपरेको छ ।
भसराज उच्च मावि कल्याणपुरलाई यसअघि आठ कठ्ठा, त्यहीका अस्पताललाई तीन कठ्ठा, इलाका प्रहरीलाई तीन कठ्ठा गरी सरकारी संस्था स्थापनार्थ श्रेष्ठ परिवारले जग्गा दान गरिसक्नु भएको छ ।
सप्तरीको कल्याणपुरमा जन्मिनुभएका श्रेष्ठको बुवा भवानीप्रसाद श्रेष्ठले २०१६ सालदेखि नै यहाँका जनता शिक्षा, स्वास्थ्य सेवाबाट बन्चित नहोस भनेर सामाजिक, आर्थिक र संरचनात्मक विकासका निम्ति सहयोगको रुपमा अरबौं रुपियाँ पर्ने निजी सम्पति राज्यलाई दान गर्दै आउनुभएको छ ।
सरकारी सेवामा २०२८ सालदेखि राजविराजस्थित नेपाल बैंक लिमिटेडको क्यासियरको जागिरबाट १५ वर्षअघि रिटायर्ड हुनुभएका श्रेष्ठ दम्पतीले भनुभयो, “अहिले हाम्रो बसाइ काठमाडौं भए पनि पुर्ख्याैली ठाउँका नागरिकको सेवाका लागि जग्गा दान गरेका हौं ।” श्रीमती मोमिलाले आफू बिहे गरेर आएदेखि जनताको सेवामै श्रीमानको खुशी देखेको बताउनुभयो ।