घलेगाउँमा हिउँ पर्यो, जनजीवन कष्टकर
बेलिना थापा
लमजुङ, माघ १२ गते । स्मार्ट भिलेज घलेगाउँमा हिउँ पर्न थालेको छ । लमजुङको क्व्होलासोंथर गाउँपालिका ३ स्थित पर्यटकीय गाउँ घलेगाउँमा बुधबार दिउँसोबाट हिउँ पर्न थालेको हो ।
दिउँसो करिब सवा दुई बजेबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । स्थानीय यमुना घलेका अनुसार दिउँसोबाट हिउँ पर्न थालेको हो । चिसो बढ्दै गएको छ । दुई वर्ष अघि हिउँ परेको घलेगाउँमा पुनः यसवर्ष पनि हिउँ परेको उहाँले बताउनुभयो ।
‘मौसम चिसो थियो । बुधबार दिउँसोबाट हिउँ नै पर्न थाल्यो । हिउँ बाक्लो परेको छ । चिसो बढेको छ’ उहाँले भन्नुभयो, ‘चिसोले बाहिर निस्कन सकेको छैन । घलेगाउँबासीहरु घरभित्रै आगो तापेर र सिरकभित्र बसेका छौं ।’
पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार हिउँले घलेगाउँ पूरै सेताम्मे भएको छ । डाँडाकाँडा सेताम्मे भएको छ । हिउँ बाक्लो परेकाले बाहिर निस्कन मुस्किल परेको छ । केही पर्यटक र स्थानीय भने सेल्फी खिच्न र हिउँ खेल्न बाहिर निस्किएको उहाँले बताउनुभयो ।
करिव ३ इन्च जति हिउँ परिसकेको विकले बताउनुभयो । समुद्री सतहदेखि करिब २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँसंगै घनपोखरा, नायुमा पनि हिउँ परेको स्थानीयले बताएका छन् । हिउँ परेको जानकारी पाएपछि केही मानिस बेंसीशहरबाट हिउँ खेल्न गएका छन् ।