खुला | प्रदेश |

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा ३६६ मत खस्यो

विजयकुमार साह
ढल्केवर, माघ १२ गते । राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा कूल ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका छन् । जनकपुरधामस्थित महेन्द्रनरायण निधि भवनमा राखिएको बुथ केन्द्रमा बुधबार भएको मतदानमा सो मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताउनुभयो ।

प्रदेश सभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको प्याकुरेलले जानकारी दिनुभयो । प्रदेश सभा सदस्यतर्फ दुई र स्थानीय तह (प्रमुख, उपप्रमुख) तर्फ चार जना मतदाता उपस्थित नभएका कारण मतदान नभएको निर्वाचन अधिकृत प्याकुरेलले बताउनुभयो ।

स्थानीय तहतर्फ १३२ महिला र १३२ पुरुषले मतदान गर्नुभएको छ । मधेस प्रदेशमा राष्ट्रिय सभा दुई सदस्यका लागि मतदान सम्पन्न भएको हो । मतगणना साँझ ४ः३० बजेदेखि सुरु हुने उहाँले जानकारी दिनुभयो ।

सत्ता गठबन्धन तथा नेकपा (एमाले) र लोसपाको गठबन्धन चुनावी मैदानमा छ । मधेस प्रदेशमा स्थानीय तहबाट २६८ मतदाता छन् भने प्रदेशसभा तर्फबाट १०४ जना छन् । यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा कांग्रेसको २ हजार २६२, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ रहेको छ ।

त्यस्तै, २ पालिकाबाट स्वतन्त्र ३६ मत छ । फोरम लोकतान्त्रिक कांग्रेसमा आइसकेकाले कांग्रेससँग अब २ हजार ३७० मतभार रहेको छ । स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।