सङ्क्रमण बढेपछि तनहुँ प्रशासनद्वारा आलोपालो सेवा
अमरराज नहर्की
तनहुँ, माघ १२ गते । कोरोना सङ्क्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालयले बार अनुसारको सेवा प्रवाह गर्ने व्यवस्था गरेको छ । कोभिड सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा खोपकार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीड कम नभएपछि दिनअनुसार सेवा प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।
कोभिड व्यवस्थापन समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहका सेवाग्राहीलाई दिन (बार) अनुसार आलोपालो सेवा प्रवाह थालिएको जानकारी दिनुभयो । आइतबार, मङ्गलबार, बिहीबार तीन दिन व्यास नगरपालिका भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका क्षेत्रका सेवाग्राहीलाई सेवा प्रदान गरिने भएको छ ।
त्यसैगरी सोमबार, बुधबार र शुक्रबार शुक्लागण्डकी नगरपालिका तथा भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका तथा घिरिङ गाउँपालिकाका लागि सेवा प्रवाह गरिने सहायक प्रजिअ गैरेले जानकारी दिनुभयो । आलोपालो सेवा प्रवाह र खोप कार्डको व्यवस्था अनिवार्य गरिएपछि भिड कम भएको गैरेले बताउनुभयो ।