खुला | प्रदेश |

पारासिटामोल अभावको गुनासो बढेपछि बजार अनुगमन

रेखीराम राना
पाल्पा, माघ १२ गते । बजारमा पारासिटामोल, मास्क, स्यानिटाइजरकोे अभाव भएको गुनासो बढेपछि पाल्पामा अनुगमन गरिएको छ । जिल्ला सदरमुकाममा रहेको फार्मेसी पसल, अस्पताल तथा मेडिकल हलमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बुधबार अनुगमन गरिएको हो ।

कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु भए यता बजारमा प्यारासिटामोल, मास्क र स्यानिटाइजरको अभाव भएको गुनासो आएपछि अनुगमन गरिएको छ । अनुगमनका क्रममा केही स्थानमा पारासिटामोल मौज्दात रहेको पाइए पनि अधिकांश निजी फार्मेसीमा भने दुई सातादेखि पारासिटामोल अभाव रहेको पाइएको छ ।

तानसेन बजारका दुई वटा अस्पतालसहित आठवटा फार्मेसीमा गरिएको अनुगमनका क्रममा अधिकांशमा पारासिटामोल नभेटिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो । तानसेनस्थित शुभम मेडिकल हल, पाल्पा अस्पताल तथा लुम्विनी मेडिकल कलेजमा भने पारासिटामोल मौज्दात रहेको उहाँले जानकारी दिनुभयो ।

देशभरजस्तै पाल्पामा पनि पारासिटामोल, मास्क र स्यानिटाइजरमा कृतिम अभाव सिर्जना गरिएको गुनासो आएपछि बजार अनुगमन गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी गजन्नाथ पन्तले बताउनुभयो । तानसेनको शित्तलपाटी, टक्सारटोल सिल्खानटोल लगायतका स्थानमा रहेको मास्क, स्यानिटाइजर बिक्री गर्ने पसलमा समेत अनुगमन गरिएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा मास्क बढी मुल्यमा बिक्री भएको पाइएकाले पसलेलाई तोकिएको मुल्यमा बिक्री गर्न सचेत गरिएको प्रजिअ पन्तले बताउनुभयो । बजारमा अहिले स्वीकृत प्राप्त कम्पनीबाहेकका स्यानिटाइजर समेत बिक्री भएकाले त्यस्ता स्यानिटाइजर फिर्ता गर्न आग्रह गरिएको छ ।

केही फार्मेसी पसलमा पारासिटामोल अभाव देखिएकाले यथाशीघ्र यसअघि खरिद गर्ने पसलबाट पारासिटामोल मगाउन सम्बन्धित पसललाई आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेले बताउनुभयो । पारासिटामोल मौज्दात नभएका फार्मेसी पसललाई तत्काल औषधि ढुवानी गर्न निर्देशन दिएका छौँ न्यौपानेले भन्नुभयो ।