कोभिड बढेसँगै तनहुँ कारागारमा भेटघाट बन्द
अमरराज नहर्की
तनहुँ, माघ १३ गते । जिल्लामा कोरोना सङ्क्रमण बढेसँगै तनहुँ कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागारमा कोरोना सङ्क्रमण फैलिन सक्ने जोखिम भएकाले कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरिएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताउनुभयो ।
कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष भेटघाट बन्द गरिएको उहाँले जानकारी दिनुभयो । कारागारमा ए ब्लकमा १४५ जना बि ब्लकमा ११२ गरी २५६ जना कैदीबन्दी रहेका कारागारले जनाएको छ ।
कोरोना सङ्क्रमणबाट सुरक्षित हुनका लागि नयाँ कैदीबन्दी र कोरोनाको लक्षण देखिएका बिरामीलाई कारागारको पुरानो भवनमा अलगै राख्ने गरिएको छ । यस्तै तनहुँ प्रशासनले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी जमघट र भेला हुन रोक लगाएको छ ।