खुला | प्रदेश |

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई फाइबर सिरक

तिलाचन पाण्डे
तम्घास, माघ १३ गते । गुल्मी दरबार गाउँपालिकाले चिसोबाट बचाउन ज्येष्ठ नागरिक र अति विपन्न ‘क’ बर्गका अपाङ्गता भएकाहरुलाई फाइबर सिरक वितरण गरेको छ । ८२ वर्षदेखि माथि ८४ वर्षसम्मका ४४ जना ज्येष्ठ नागरिक र ‘क’ वर्गका अति विपन्न र असहाय ४३ जना अपाङ्गता भएकालाई गरी कुल ८७ जनालाई फाइबर सिरक हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकासँग ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत १ लाख र अपाङ्गता भएकालाई सम्मान कार्यक्रम अन्तर्गतबाट १ लाख गरी कुल २ लाख रुपियाँको बजेटबाट फाइबर सिरक वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

फाइबर सिरक वितरण गर्दा चिसोबाट बच्न सहज हुने र न्यानो पनि हुने भएकाले फाइबर सिरक वितरण गरिएको हो । फाइबर सिरक पाएपछि ज्येष्ठ नागरिक र अति अशक्त ‘क’ वर्गका अपाङ्गता भएकाहरुले गाउँपालिका कार्यालय आफूहरुको साथमा रहेको अनुभूति भएको बताउनुभयो ।