ग्रिड सबस्टेशन बनेपछि सर्लाहीमा विद्युत नियमित
जनार्जन खत्री
सर्लाही, माघ १५ गते । जिल्लामै पहिलो पटक ग्रिड सबस्टेशन निर्माण भएर सञ्चालनमा आएसँगै सर्लाहीमा अनियमित विद्युत् कटौतिमा कमी आएको छ । छिनछिनमै विद्युत् कटौती भइरहने समस्याले हैरान भएका जिल्लाबासीले विद्युत् नियमित भएपछि राहत महसुस गरेको बताएका छन् ।
चार महिना अघिदेखि लालबन्दी नगरपालिका– १, नवलपुरमा १३२–३३ केभी क्षमताको ग्रिड सवस्टेशन निर्माण भई सञ्चालनमा आएको छ । ग्रिड सवस्टेशनबाट लालबन्दी, हरिपुर र मलङ्गवा गरी तीन वटा फिडरमा विद्युत् प्रवाह भइरहेको छ । अबको केही महिनाभित्र बरहथवा फिडरमा पनि नवलपुर ग्रिड सवस्टेशनबाटै बत्ती जोड्ने तयारी भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
लालबन्दी नगरपालिका– १, नवलपुर निवासी शारदा बस्नेतले ग्रिड सवस्टेशन चालू भएपछि बारम्बार बत्ती गइरहने समस्या अन्त्य भएको भन्दै खुसी व्यक्त गर्नुभयो । विद्युत्बाट हुने हरेक काम गर्न अहिले सहज भइरहेको पनि उहाँले बताउनुभयो ।
विद्युत् नियमित भएपछि यहाँका उद्योगी, व्यवसायीलाई समेत ठूलो राहत मिलेको छ । रौतहटको चन्द्रनिगाहपुरदेखि लामो जङ्गल छिचोलेर बत्ती ल्याउँदा छिनछिनमै बत्ती गइरहने समस्याले उद्योगी, व्यवसायी पनि हैरान भइरहेका थिए । विद्युत् अवरुद्ध भएर कामदारलाई कामविहीन बनाएर राख्नुपर्ने बाध्यताको अहिले अन्त्य भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सञ्जीवकुमार साहले जिल्लामै ग्रिड सवस्टेशन निर्माण भएपछि विद्युत् प्रवाहमा अत्यन्तै सहजता आएको बताउनुभयो । यसअघि रौतहटको जङ्गल क्षेत्रमा कुनै खराबी आउँदा लालबन्दी वा मलङ्गवादेखि प्राविधिक गएर मर्मत गर्न घण्टौं लाग्नेगरेको थियो । मर्मत नहुञ्जेल जिल्लाभरको विद्युत् अवरुद्ध हुने समस्या थियो । अहिले जिल्लामै ग्रिड सवस्टेशन बनेर बत्ती जोडेपछि सो समस्या समाधान भएको वितरण केन्द्र प्रमुख साहले बताउनुभयो ।