खुला | प्रदेश |

गाउँमा किसानलाई मजदुर भेटनै मुस्किल

माला कर्ण
सप्तरी, माघ १५ गते । रोजगारीका लागि युवाहरु विदेशीएपछि गाउँमा खेतीको समयलगायत अन्य समयमा पनि मजदुरको अभाव भएको छ । खेती गर्ने समय, खासगरी रोपाई र कमाई हुने समयमा मजदुर नभेटीदा समस्या भएको स्थानीय कृषकहरुको भनाई छ ।

विगत सात आठ वर्षदेखि खडेरी र बाढीले खेतीमा क्षति हुँदैआएका कारण रोजगारीका लागि युवाहरु विदेशिएपछि मजदुर नपाईने गरेको सप्तरी खडक नगरपालिका ८ का किसान अरुण यादवले बताउनुभयो । स्वदेशमा रोजगारी नपाएको भन्दै यहाँका गरीब विपन्न समुदायका युवाहरु रोजगारीका लागि विदेश गएपछि उनीहरुको घरमा रहेका महिला मजदूरहरु पनि अर्काको खेतबारीमा काम गर्न जान नमान्ने गरेको उहाँले दुखेसो पोख्नुभयो ।

पहिला गाउँमा थुप्रै मजदुर पाउँथे तर अहिले मजदुर भेटनै गाह्रो भएको बोदे बरसाईनका किसान कुवेन्द्र यादवले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले खेती गर्नलाई मुस्किलले एक–दुई जना मजदुर पाउँछ, त्यो पनि चार पाँच पटक बोलाएपछि मात्र आउँछ ।’ गाउँका पुरुषहरु कमाउन विदेशतिर गए, महिला खेतमा हलो जोत्न र कोदालो चलाउन सकिरहेको छैन् । त्यसैले खेतिगर्न समस्या भएको यादवले बताउनुभयो । यादवले भन्नुभयो, ‘अहिले गहुँ छर्नै र प्याज लगाउने बेला छ, गाउँमा जाँदा मजदुरहरु भेटिदैन, एक आध महिला मजदुर पाएपनि तानातान हुनेगरेको छ।’

यादव मात्र नभई खेतीगर्ने प्राय सबै किसानहरु अहिले यस्तै समस्या रहेको छ । सप्तरीमा कुल ७० हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमध्ये वर्षेनी वर्षा र मजदुरको अभावमा अधिकांश खेतियोग्य जग्गा बाँझो रहदैआएको छ ।