खुला | प्रदेश |

डुडुवामा २५ करोड लागतमा सडक निर्माण प्रक्रिया शुरु

सिराज खान
नेपालगञ्ज, माघ १५ गते । संघीय भौतिक पूर्वाधार विकास मन्त्रालयको रणनीतिक सडक सञ्जाल योजनाको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक योजना अन्तर्गत बाँकेको डुडुवामा २५ करोड लागतमा सडक निर्माण प्रक्रिया शुरु गरिएको छ ।

बाँके क्षेत्र २ का संघीय सांसद तथा पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईको मागअनुसार भौतिक पुर्वाधार विकास मन्त्रालयले एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक योजनामा लामो समयदेखि जनताको माग रहेको डुडुवाको सो सडकलाई पारेपछि निर्माण प्रक्रिया शुरु गरिएको छ ।

भौतिक पुर्वाधार विकास मन्त्रालयको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक योजना अन्तर्गत डुडुवा गाउँपालिकाको गन्धैली नालादेखि जाफरपुर्वा, बेतहनी अमृतपुर्वा, दासपुर्वा, कैरातीपुर्वा, कोल्ही हुंदै रमपुर्वा डुडुवा खोलाको झोलुंगेपुलसम्म पहिलो चरणमा सडक निर्माणका लागि २५ करोड रुपियाँको टेण्डर आह्वान गरिएको बाँके २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले बताउनुभयो ।

बर्षौदेखि सो क्षेत्रका जनता सडकको अभावमा पीडित रहँदैआएकोमा हाल आएर सो माग पूरा भई उक्त सडकको निर्माणका लागि २५ करोडको टेण्डर आह्वान भएको बताउनुभयो । स्थानीय राजेन्द्र विश्वकर्माले दिनुभएको जानकारीअनुसार वर्षौंदेखि हिलो र धुलोको समस्या झेल्दैआएका डुडुवा गाउँपालिकाका हजारौं जनताको समस्यालाई दृष्टिगत गरेर सांंसद राईले आफ्नो निर्वाचन क्षेत्रका लागि सडक निर्माणको माग गर्नुभएकोमा निर्माण प्रक्रिया शुरु हुँदा स्थानीयवासी खुशी भएको उहाँले बताउनुभयो ।

छिटै टेन्डर भर्ने र ठेक्का दिने काम पूरा हुने तथा सडक निर्माण शुरु गरिने जनाउँदै वर्षौंदेखि हिलो र धुलोको समस्या झेल्दै आएका सो क्षेत्रका जनतालाई सडक निर्माण भएपछि आवतजावतमा निकै नै सहज हुने बताउनुभयो ।

२५ करोडको सडक निर्माण प्रक्रिया शुरु गरिएको जानकारी पाएपछि सो क्षेत्रका अधिकांश सर्वसाधारण निकै खुशी हुनुभएको छ । पूर्व सहरी विकासमन्त्री रहनु भएका बाँके २ का सांसद राईले जिल्लाको विकासका लागि सडक निर्माण आवश्यक रहेको बताउनुभयो ।