हाइड्रो जोन मार्वु बत्तीमुनिको अँध्यारोमा
कैलाश लामा
चरिकोट, माघ १५ गते । दोलखाको गौरीशंकर गाउँपालिका –७ मार्वु पछिल्लो समय हाइड्रोपावर जोनको रुपमा विकास हुँदैगइरहेको छ । करिब आधा दर्जन जलविद्युत निर्माणाधीन अवस्थामा रहेको यस वडामा पाँच मे्गावाटको घट्टेखोला जलविद्युत आयोजनाले एक वर्ष अघिदेखि विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको थियो । तर बत्ती मुनिको अँध्यारोझै मार्वुको अधिकांश गाउँमा राष्ट्रिय प्रसारण लाइन जडान हुन सकेको छैन् । वडा –७ स्थित हुप्ची, भस्मे, मर्वु, टोकदिङ, सिक्पाश्वर र खानीगाउँमा हालसम्म राष्ट्रिय प्रसारण लाइन जडान हुन सकेको छैन् ।
लघु जलविद्युत र सोलारको भरमा रहेका यहाँका नागरिकले पर्याप्त उर्जा नपाउँदा विविध समस्याहरु झेल्न बाध्य छन् । लघु जलविद्युत र सोलारबाट पर्याप्त उर्जा नआउँदा बत्ती मधुरो बल्ने र मोबाइल चार्ज गर्न समेत समस्या पर्नेगरेको स्थानीय बुद्धिमान शेर्पाले बताउनुभयो ।
मार्वुमा २०६७ सालदेखि नजिकैको कोरुङ खोला लघु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी वितरण भइरहेको छ । ६२ केभी क्षमताको माइक्रो हाइड्रोबाट उत्पादित विद्युत दुई सय ४० घरका लागि मात्रै पुग्ने भएपनि उपभोक्त बढ्दै जाँदा चार सय ४० घरमा लाइन जडान गरिएको स्थानीयको भनाई छ ।
हिँउदमा ४५ केभीभन्दा माथि उत्पादन नहु्ने र माइक्रो हाइड्रोको क्षमताभन्दा बढी उपभोक्त भएकाले सबैलाई पर्याप्त उर्जा पुग्न नसकेको शेर्पाले बताउनुभयो । बेलुका ६ बजेदेखि विहान ७ बजेसम्म सञ्चालन हुने लघु जलविद्युतबाट पर्याप्त उर्जा नआउँदा यहाँका नागरिक विद्युतबाट सञ्चालन हुने सबै सामग्रीबाट बञ्चित भएको स्थानीयको गुनासो छ ।
लघु जलविद्युतको बत्ती सञ्चालन र रेखदेख गर्न दुई जना स्थानीयलाई पाँच हजर र ६ हजार रुपियाँको दरले मासिक रकम दिएर राखिएको छ । आफू वडामा निर्वाचित हु्नुअघि लघु जलविद्युत उपभोग गरेबापत मासिक एक सय रुपियाँ स्थानीयसँग उठाउने प्रावधान भएपनि सो रकम आफ्नै सेवा सुविधा कटौती गरेर तिर्ने गरेकाले लघु जलविद्युत निशुल्क रहेको वडा अध्यक्ष रिञ्जी शेर्पाले बताउनुभयो । उपभोक्त धेरै भएकाले लघु जलविद्युतबाट उर्जा पाउन नसकेको उहाँको भनाई छ ।
बिद्युत नहुँदा वडा कार्यलयबाट प्रदान गर्ने सेवा समेत प्रभावित बनेको वडा कार्यालयको भनाई छ । त्यसैगरी वडाका विद्यालयहरुमा कम्प्युटर शिक्षा पढाउन पनि मुस्किल भएको हिमवर्ती माविका प्रधानाध्यापक शुभ शेर्पाले बताउनुभयो ।
गौरीशङ्कर –७ मार्वुमा ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको ४० मेगावाटको खानीखोला–१, सासा हाइड्रोपावर कम्पनीको ३० मेगावाटको खानीखोला–२ जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । त्यसैगरी पाँच मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाबाट बिद्युत उत्पादन भइसकेको छ भने, ६.२ मेगावाटमध्ये लोअर खानीखोला हाइड्रोपावर, २.७ मेगावाटको अप्पर घट्टे खोला हाइड्रोपावर सर्वेक्षणको चरणमा छ ।