नेपालगञ्ज विमानस्थल खुलेन, दिउँसोसम्म उडान रद्द
सिराज खान
नेपालगञ्ज, माघ १६ गते । बाक्लो हुस्सु र कुहिरोका कारण बिहानैदेखि मौसम बिग्रिएकोले आइतवार दिउँसोसम्म नेपालगञ्ज विमानस्थलको उडान रद्द हुने बताइएको छ । यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लामा हुने र सङ्घीय राजधानी काठमाडौं तथा पोखराका लागि हुने सबै उडान रद्द गरिएका छन् । उडान रद्द हुँदा विभिन्न ठाउँमा जान विमानस्थल पुगेका सयौं यात्रु विमानस्थलमै रोकिएका छन् ।
नागरिक उड्डयन कार्यालय नेपालगञ्जका अनुसार आइतवार बिहानैदेखि मौसम अत्यधिक खराब हुँदा भिजिबिलिटी कम भएकाले विमानस्थल नखोलिएको जनाएको छ । दिउँसो १२ बजेसम्म यहाँबाट कुनै पनि हवाई उडान नहुने सो कार्यालयले जनाएको छ । मौसममा सुधार आएपछि मात्रै उडान सुचारु गर्न सकिने कार्यालयले जनाएको छ ।
शनिवार रातीबाटै मौसममा आएको खराबीका कारण हुस्सु र कुहिरो अत्यधिक बढेपछि उज्यालो निकै कम रहेकाले नेपालगञ्जबाट आइतवार हुने सबै उडान दिउँसो दुई बजेसम्मका लागि रद्द गरिएकोे विमानस्थल सुरक्षा गार्डका प्रमुख सई सन्तोष शाहले बताउनुभयो । उडान नहुँदा सयौं यात्रु अझैपनि विमानस्थलमा पर्खिरहेको २ बजेपछि सो बारेमा थप जानकारी गराउने टावरले सूचना दिएको उहाँले बताउनुभयो ।
यस क्षेत्रका अधिकांश पहाडी र हिमाली जिल्लाहरुमा हिउँ परिरहेकोले ती जिल्लाको उडान रद्द गरिएको र अन्य जिल्लामा नेपालगञ्ज विमानस्थल बन्द हुँदा उडान नभएको विमानस्थल टावरले जनाएको छ । गत केही दिनदेखि नै पहाडी जिल्लामा निकै कम उडान हुनेगरेको र काठमाडौं तथा पोखराका लागि पनि ढिला गरेर केही उडान मात्र हुनेगरेको विमानस्थल सुरक्षा गार्डका प्रमुख सई शाहले बताउनुभयो ।
नेपालगञ्जबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र बझाङ तथा काठमाडौं र पोखराका लागि २५ भन्दा बढी हवाई उडान हुनेगरेका छन् ।