हर्क गुरुङ प्रतिष्ठानलाई आठ लाख रुपियाँ सहयोग
बेलिना थापा
लमजुङ, माघ १६ गते । भूगोलविद् डा. हर्क गुरुङ प्रतिष्ठानलाई बेलायतबाट सहयोग प्राप्त भएको छ । गुरुङ समुदायभित्रको ल्हेंगे थर भएकाहरु आबद्ध भएको संस्था ल्हेंगे तमु समाज युकेले प्रतिष्ठानलाई आठ लाख रुपियाँ सहयोग गरेको हो ।
डा. गुरुङको समाधिस्थल रहेको मर्स्याङ्दी गाउँपालिका ७ ताङ्लीचोकमा निर्माण गरिने पार्कका लागि भन्दै समाजले सहयोग गरेको हो । प्रतिष्ठानले पार्क निर्माणका लागि गुरुयोजना बनाएको जानकारी पाएपछि समाजले सहयोग संकलन गरेको ल्हेंगे तमु समाज युकेका संस्थापक अध्यक्ष एवं तमु प्ये ल्हु संघ युकेका निवर्तमान अध्यक्ष मेजर खुशीमान गुरुङले बताउनुभयो ।
उहाँकाअनुसार डा. गुरुङ पनि ल्हेंगे थरको भएकाले समाजले यस कार्यमा चासो दिएको छ । ल्हेंगे थरको गुरुङका साथै अन्य थरका गुरुङ समुदायले पनि आफुहरुले थालेको अभियानमा सहयोग गरेको उहाँले बताउनुभयो । सहयोग गर्नेमा तमु धीं युके, तमु प्ये ल्हु संघ युकेका आबद्ध भएकाहरु पनि छन् ।
सहयोग रकम मेजर खुुशीमान गुरुङले डा. गुरुङको जन्मस्थान ताङ्लीचोकमा पुगेर हस्तान्तरण गर्नुभएको छ । संविधान सभा सदस्य एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा डा. गुरुङ प्रतिष्ठानका संरक्षक जमीन्द्रमान घलेको उपस्थितिमा खुसीमान गुरुङ र उहाँको धर्मपत्नी मञ्जु गुरुङले वडा अध्यक्ष युव घलेलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
डा. हर्क गुरुङ प्रतिष्ठानका सचिव सेरबहादुर थापाले प्रतिष्ठानले निकट भविष्यमा समाधिस्थल व्यवस्थित बनाउने योजना बनाएको र यसका लागि बेलायतबाट सहयोग आएको भन्दै खुसी व्यक्त गर्नुभयो । समाजले थालेको आर्थिक सङ्कलन अभियानमा डा. हर्क गुरुङका आफन्त, इष्टमित्र, साथीभाइ र हर्क गुरुङलाई चिन्ने व्यक्तिले सहयोग गरेका छन् ।
प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङ ‘तेजु’ का अनुसार प्रतिष्ठानले भूगोलविद् डा. हर्क गुरुङको स्मृतिमा समाधिसँगै पार्क निर्माण गर्न डिपिआर तयार भइरहेको छ । ताङ्लीचोकमा रहेको उहाँको समाधिस्थलसँगै पार्क र अन्य संरचना निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पार्न लागिएको प्रतिष्ठानले जनाएको छ ।