खुला |

घट्यो बैतडीको जनसङ्ख्या

बैतडी, माघ १७ गते । बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो । विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर दुई लाख ४४ हजार चार सय पुगेको छ । दश वर्षमा छ हजार ४९८ घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताउनुभयो ।

सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या पुर्चौडी नगरपालिकामा छ । त्यहाँको जनसङ्ख्या १९ हजार ९६५ रहेको छ । दशरथचन्द नगरपालिकाको जनसङ्ख्या १६ हजार ७३३, पाटनको जनसङ्ख्या १४ हजार ९४५ र मेलौलीको जनसङ्ख्या ११ हजार २६५ छ । दोगडाकेदार गाउँपालिकाको जनसङ्ख्या १२ हजार ७६५, सिगास गाउँपालिकाको जनसङ्ख्या १२ हजार ३२६, डिलाशैनी गाउँपालिकाको जनसङ्ख्या ११ हजार ८८६, शिवनाथ गाउँपालिकाको जनसङ्ख्या नौ हजार ७५८, सूर्नया गाउँपालिकाको जनसङ्ख्या नौ हजार ६८१ र पञ्चेश्वर गाउँपालिकाको जनसङ्ख्या नौ हजार ६५० छ ।

बसाइसराइलगायत कारणले जिल्लाको जनसङ्ख्या घटेको प्रमुख पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “जनसङ्ख्या घट्नुको प्रमुख कारण बसाइसराइ नै हो, तराइको जनसङ्ख्या बढेकाले पहाडबाट बसाइ सरेर तराइ झर्ने बढेका छन् ।”