निर्वाचन मिति घोषणाको माग गर्दै ज्ञापनपत्र
लक्ष्मण पौडेल
भैरहवा, माघ १७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट भातृ संगठनहरुले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन सरकार समक्ष माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । रुपन्देहीमा क्रियाशील एमाले निकट २१ वटा भातृ संगठनले लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् ।
अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, प्रेस चौतारी नेपाल, अखिल नेपाल किसान महासंघ, नेपाल टे«ड युनियन (जिफन्ट), राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल मुस्लिम इत्तेहाद संगठन, नेपाल खेलकुद महासंघ, नेपाल भुमिहिन सुकुम्बासी संगठन, नेपाल भुपु सैनिक तथा प्रहरी संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक मधेशी संगठन, पेशागत महासंघ नेपाल, नेपाल बुद्धिजिवी परिषद्, लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन, मानव अधिकार एलायन्स, प्रगतिशील कानुन व्यवसायी संगठन, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन रुपन्देहीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति घोषणाको माग गरेका हुन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । सरकार निर्वाचनबाट पछाडि हटेमा मुलुकको लोकतन्त्र खतरामा पर्ने सो संगठनका पदाधिकारीको भनाई छ ।
संविधानको धारा २२५ ले स्थानीय तहको निर्वाचनपश्चात गाउँ र नगरसभा गठनका लागि समय लाग्छ भनेर छ महिनाभित्र गाउँ नगर सभा निर्वाचन भनेकोले धारा २२५ को अपव्याख्या गरी स्थानीय तहको निर्वाचन सार्न नमिल्ने उहाँहरुको भनाई छ ।
“स्थानीय तहका पदाधिकारीको पाँचवर्षे पदावधि २०७९ जेठ ५ मा समाप्त हुँदैछ, हाम्रो संविधानले स्थानीय सरकारमा जनप्रतिनिधि नहुने परिकल्पना गरेको छैन, पाँचवर्षे कार्यकाल पुरा गरिसक्दा नयाँ जनप्रतिनिधि निर्वाचित नहुने हो भने आगामी जेठ ५ गतेपछि ७५३ वटा स्थानीय सरकारले वैशाखपछि कार्यअवधि सकिन्छ र शुन्यता आउँछ”–ज्ञापनपत्रमा भनिएको छ ।