छोरी बीमा कार्यक्रम छिटै सुरु हुन्छ : मुख्यमन्त्री राउत
धीरेन्द्रप्रसाद साह
जनकपुर, माघ १७ गते । मधेस प्रदेशका मुख्यमन्त्री लालबाव्ु राउतले प्रदेशमा लामो समयदेखि रोकिएको छोरी बीमा कार्यक्रम छिटै सुरुहुने बताउनुभएको छ । प्रदेश सरकारको बेटी पढाऊँ, बेटी बचाऊँ कार्यक्रम अन्तर्गत छोरी बीमा विभिन्न कारणले करिब दुई वर्ष यतादेखि रोकिएको थियो ।
छोरी बीमालाई निरन्तरता दिन आवश्यक तयारी भइरहेकोले चाँडै बीमा कार्य सुरु गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “छोरी बीमासम्बन्धी आवश्यक कानूनी प्रक्रिया पूरा गरी एक दुई दिनभित्रै पुनः बीमा कार्य प्रारम्भ हुन्छ । रोकिएको समय यता जन्मिएका सम्पूर्ण छोरीको बीमा हुन्छ ।”
आमसञ्चार प्राधिकरण मधेस प्रदेशले आयोजना गरेको सरोकारवालासँग छलफल कार्यक्रम अन्तर्गत पत्रकारहरुको दुई दिने अभिमुखिकरण कार्यक्रमको सोमबार समापन समारोहमा मुख्यमन्त्री राउतले यस्तो बताउनुभएको हो । समाज सुधार र परिवर्तनका लागि पत्रकार निष्पक्ष, निडर भएर कलम चलाउनु पर्नेमा जोड दिनुभयो । मधेस प्रदेश सरकारले गरेका कामको उजागर गरी सर्वसाधारणलाई सुसुचित गर्न र कमिकमजोरी औल्याइ दिन पनि उहाँले आग्रह गर्नुभयो ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्द यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मधेस प्रदेश सरकारले ल्याएको महिला शसक्तीकरण तथा महिलाको ५० प्रतिशत आरक्षणले आउँदो १५ वर्षभित्र प्रहरी प्रशासनसहित प्रत्येक कार्यालयको उच्च पदमा आधा संख्यामा महिला कर्मचारी हुने दाबी गर्नुभयो ।
कार्यक्रममा मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मधेस प्रदेश सरकारको कामको काठमाडौंमा राम्रो चर्चा हुनेगरेको बताउनुभयो । हाम्रो प्रदेशका नागरिकमा यसको चर्चा नहुनु दुखद कुरा हो उहाँले भन्नुभयो । पहिचानसहित प्रदेशको नामाकरण मधेस प्रदेशले मात्र गरेको उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले राजनीतिक आस्था भन्दामाथि उठेर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । सरकार र संघीयतालाई बचाउनेतर्फ कलम चलाउन उहाँले आग्रह गर्नुभयो ।
समापन समारोहमा प्रदेश सभा सदस्य रामअषिश यादव, मिडिया काउन्सि अध्यक्ष शिवहरीप्रसाद भट्टराई, राससका नायब महाप्रबन्धक राजु शाक्यलगायतले संघीयताको संरक्षण, सम्बाहकको रुपमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।