बगर खेती गरेर आत्मनिर्भर बन्दै भूमिहीन
विजयकुमार साह
ढल्केबर, माघ १८ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ लवटोलीका भूमिहीन ४० घर परिवार बगर खेती गरेर आर्थिक रुपले आत्मनिर्भर बन्दै गएका छन् । सोही वडा भएर बग्ने कमला नदीको उकास जमिनमा तरकारीलगायत नगदे बाली उत्पादन गरेर भूमिहीनहरु आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका हुन् ।
यसअघि अर्काको खेतमा खेतालाको काम गर्ने तथा दैनिक ज्यालामजदुरी गरेर जीवनयापन गरिरहेका अधिकांश गरिब तथा विपन्न कृषक परिवार अहिले बगरमा खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । युएनडिपिको आर्थिक सहयोगमा सामुदायिक सुधार केन्द्र (सिआइसी) धनुषाले उहाँहरुलाई बगर खेती गर्न प्रोत्साहन गरेको हो । सिआइसी धनुषाले डेढ वर्षअधि कमला नदीको उकास जमिनलाई सम्याएर गणेशमान चारनाथ नगरपालिकाका अतिविपन्न, भूमिहिन र रोजगारी गुमाएका ४० परिवारलाई खेतबाली गर्न पाँच कठ्ठाका दरले जग्गा उपलब्ध गराएको छ ।
सिआइसी धनुषाका अध्यक्ष सञ्जय साहले कोभिड–१९ ले आर्थिक मारमा परेका अतिविपन्न, भूमिहीन र रोजगार गुमाएका परिवारको जिविकोपार्जनमा मद्दत पुर्याउन र आत्मनिर्भर बनाउने उद्देश्यले तरकारी खेती गराउंदै आएको बताउनुभयो । उहाँले खेतीमा संलग्न घर परिवारहरुलाई खेतीका लागि आवश्यक कृषि औजार, सिंचाई, मल र बीउलगायतका सामाग्रीहरु नियमित सहयोग गरिरहेको समेत जानकारी दिनुभयो ।
नगरपालिकाबाट अनुमति लिएर छ बिघा नदी उकास जमिनमा कृषि परियोजना सञ्चालन गरेको अध्यक्ष साहले जानकारी दिनुभयो । उक्त क्षेत्रफलको जमिनमा स्थानीय ४० जना अतिविपन्न घरपरिवारलाई समानरुपले बाँडेर खेती गर्न दिइएको उहाँले भन्नुभयो । छ बिघा जमिनमा दुई सय ओटा आँपको बोट पनि लगाइएको छ । बगरको थप जमिनहरु कृषियोग्य बनाएर परियोजनालाई विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
कृषि खेतीमा सहजताका लागि जेटिएसहितका दुईजना कृषि प्राविधिक पनि खटाइएको छ । थौरै समयमा स्थानीय गरिब तथा अतिविपन्न परिवारलाई बगर खेतिले आयआर्जनमा निकै टेवा पु¥याएको युएनडिपीका कार्यक्रम संयोजक पवनकुमार यादवले बताउनुभयो । लक्षित परिवारले यस वर्ष आलु, मूला, रायो साग, काउली, भन्टा, धनियाँलगायत खेतीबाट मनग्य आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । एउटै किसानले एकदेखि डेढ लाख रुपैयाँसम्मको आम्दानी गरेको कार्यक्रम संयोजक यादवले भन्नुभयो ।
तरकारी खेतीमा संलग्न धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ का ४० वर्षीय धीरेन्द्र कापरले हातमूख जोड्न धौधौ परिरहेको बेला तरकारी खेतीले जीविकोपार्जनमा सहयोग मात्रै नभएर आर्यआर्जनमा आत्मनिर्भर बनाउन बरदान नै साबित भएको बताउनुभयो ।
दैनिक ज्यालामजदुरी गरेर जसोतसो ६ जनाको परिवार चलाउँदै आएको थिएँ । परिवारको भरणपोषण गर्न ज्यालामजदुरीको विकल्प थिएन । अझ कोभिड १९ का कारण रोजगारी खोसिएपछि झन् बिच्चलीमा परेको बेला संस्थाले लगाएको गुण कहिल्यै बिर्सिन सक्दिन्, कापरले भन्नुभयो ।
यस वर्ष भन्टामात्रै एक लाख बढीको बिक्री गरेको सुनाउँदै कापरले भन्नुभयो, अहिले आर्थिक अवस्थामा सुधार आएको छ । भत्किन लागेको ओत लाग्ने घर पनि मर्मतसम्भार गरेको र चार जना छोराछोरीलाई पढाइरहेको उहाँले भन्नुभयो । त्यस्तै, सोही वडाका रामबाबू दनुवारले कोभिड १९ को कारण रोजगार खोसिएपछि कसैले ऋण सापटी दिन नमानेको अवस्थामा बगरमा गरिएको तरकारी खेतीले परिवार चलाउनुका साथै आयआर्जनमा निकै मुद्दत पुगेको बताउनुभयो । धनुषा र सिराहाबीचको कमला नदिको बगरमा गरिएको कृषि खेतीले उहाँसहित ४० घरपरिवारको जीवनस्तर बदलिँदै गएको छ ।