स्वास्थ्य सुरक्षा मापदण्ड अनुगमन गर्नुहुँदै प्रजिअ
नवीन शिशिर विक
बागलुङ, माघ १८ गते । बागलुङमा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गए पनि विगतमा जस्तो निषेधाज्ञा जारी गर्ने पक्षमा छैनन्, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति ।
कोरोना त्रासकै बीच स्वास्थ्य सुरक्षा मापदण्डको कार्यान्वयन गरेर सार्वजनिक सेवा प्रवाह हुने स्पष्ट सन्देश दिएको डिसिसिएमसीले जिल्लामा निषेधाज्ञा जारी गर्नुभन्दा सार्वजनिक स्थलमा सुरक्षा मापदण्डको कार्यान्वयनलाई प्राथमिकता दिएको हो ।
सार्वजनिक यातयात सेवा नियमित भएको हुँदा बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल आफैँ जिल्ला प्रवेश नाकामा पुगेर सार्वजनिक यातयातमा स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनको अनगमन गर्नुभएको छ । जिल्ला सुरक्षा समितिका सदस्यसहित माक्स बोकेर प्रजिअ बागलुङ प्रवेश नाका मालढुङ्गा पुग्नुभएको थियो ।
सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्डको कार्यान्वयन फितलो भएको जनगुनासो बढेपछि अनुगमनमा निस्केको प्रजिअ ढकालले बताउनुभयो । स्वास्थ्य मापदण्ड कार्यान्वयनको अवस्था नियमित रुपमा गर्ने उहाँको भनाइ छ । अनुगमनको क्रममा अधिकांश सार्वजनिक यातयातले स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन गरेको भेटिएको थियो ।
मास्क विहीन निजी तथा सार्वजनिक सवारी साधनका चालक र यात्रुलाई महामारीलाई बेवास्ता नगर्न आग्रह गरिएको थियो । अनुगमनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर मल्ली मगर, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल सहभागी बन्नुभएको थियो ।
सवारी साधन तथा पैदल यात्रको क्रममा मास्क नलगाउने गुनासो बढेपछि प्रशासनले अनुगमनलाई प्राथमिकता दिएको सहायक प्रजिअ गणेशप्रसाद पौडेलले बताउनुभयो । ‘धेरैले खोप सेपा प्राप्त गर्नुभएको छ, अब सुरक्षित भएर सेवा प्रवाह गर्ने हो’ उहाँले भन्नुभयो–‘सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेलाई नियम बमोजिम हुन्छ ।