बारेकोटको कार्कीज्युलामा पहिलो पटक यातायात सञ्चालन
सहदेव बस्नेत
जाजरकोट, माघ १९ गते । जिल्लाको बारेकोट गाउँपालिकाको कार्कीज्युलामा पहिलो पटक यातायात सञ्चालन भएको छ । गाउँपालिकाका व्यापारिक केन्द्रको रुपमा रहेको कार्कीज्युलामा पहिलो पटक पुगेको जाजरकोट डोल्पा यातायात प्रालिद्वारा सञ्चालित भे १ ज ७५६ नम्बरको बस पुगेको हो ।
पहिलो पटक सवारी सञ्चालन भएपछि सो गाउँपालिकाका स्थानीयहरु हर्षित भएका छन् । ‘आफ्नो पालामा गाडी चढ्ने कल्पना पूरा हुने आस थिएन । तर, गाउँमा गाडी पुग्दा अचम्म लागेको छ ।,’ स्थानीय ६९ वर्षीय रुपबहादुर सिंहले भन्नुभयो । गाडी पुगेसँगै खाद्यान्नलगायतका सामानहरु सस्तोमा पाइनेमा स्थानीयहरु आशावादी बनेका छन् ।
गाउँपालिका उपाध्यक्ष ओमा शाहीले जिल्लाको सबैभन्दा विकट स्थानीय तहको रुपमा रहेको बारेकोटका विभिन्न ठाउँमा पछिल्लो समयमा यातायातको पहुँच पुगेको बताउनुभयो । जिल्ला सदरमुकाम खलङ्गाबाट कालिमाटी, सिर्के, सक्ला, कार्कीज्युला, लिम्सा हुँदै घाट बजारसम्म नियमित यातायात सेवा सुचारूका लागि आवश्यक प्रक्रिया र समन्वय भइरहेको उपाध्यक्ष शाहीको भनाइ छ ।
कार्कीज्युलासम्म यातायातको सेवा पुगेपछि स्थानीय खुसी भएका छन् । स्थानिय बुद्धिजीवी लोकबहादुर सिंहले सुचारु भएको यातायात सेवा निरन्तर सञ्चालन भएमा बारेकोटवासीलाई निकै सहज हुने बताउनुभयो । भाडाका जीपहरुमा सवार गर्दा महँगो भाडा तिर्न बाध्य भएका स्थानीयहरुलाई बस पुगेसँगै यात्रामा सहज हुने सिंहको भनाइ छ ।