पत्रकार महासंघका संस्थापक अध्यक्षको निधन
नवीन शिशिर विक
बागलुङ, माघ १९ गते । नेपाल पत्रकार महासंघ तत्कालीन धौलागिरि शाखाका संस्थापक अध्यक्ष तथा बागलुङका अग्रज पत्रकार विदुर खडकाको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगले ग्रस्त खड्काको उपचारको क्रममा मंगलबार बिहान ७९ बर्षको उमेरमा निधन भएको हो । उहाँले २०२२ सालमा गोरखापत्र दैनिकका जिल्ला समाचारदाताको रुपमा काम गर्नुभएको थियो ।
खड्काले २०२८ सालमा बागलुङमा धौलाश्री साप्ताहिकको सुरुवात गर्नुभएको थियो । छापा माध्यमबाट पत्रकारिताको प्रारम्भ गर्नुभएको खड्काले नयाँ प्रविधिलाई पछ्याउँदै उहाँ अहिले धौलाश्री अनलाइनको प्रधान सम्पादक हुनुहुन्थ्यो ।
तत्कालीन राजाको प्रत्यक्ष शासनकालमा खडका एक पटक मनोनीत बागलुङ नगरपालिका प्रमुख र सोही समयमा भएको निर्वाचनमा निर्विरोध नगरप्रमुख बन्नुभएको थियो । पत्रकार महासंघको संस्थापक अध्यक्षको निधनप्रति नेपाल पत्रकार महासंघ बागलुङ शाखाले दुःख व्यक्त गरेको छ ।