खुला | प्रदेश |

सीमसार क्षेत्रको संरक्षणमा स्थानीय पहल

गोकर्ण पौडेल
तुलसीपुर, माघ १९ गते । जिल्लामा संरक्षणविहीन अवस्थामा पुगेका सीमसार क्षेत्र, ताल तलैया, पोखरीको संरक्षण गर्न थालिएको छ । प्रदेश र स्थानीय सरकारमार्फत् सो क्षेत्रको संरक्षण गर्न थालिएको हो । जिल्लाको उत्तरी क्षेत्रमा त्यस्ता सीमसार क्षेत्रलाई बढी प्राथमिकता दिएर संरक्षण गर्न थालिएको छ । डिभिजन वन कार्यालयले मात्रै जिल्लाका बबई, तुलसीपुर, घोराही, शान्ति नगरपालिकाका वन क्षेत्रमा सीमसार क्षेत्रको संरक्षण अभियान सञ्चालन गरेको छ ।

डिभिजन वन कार्यालय मार्फत विभिन्न सामुदायिक वन क्षेत्रका पोखरी संरक्षण कार्य सम्पन्न गरिएको छ । सूचना अधिकारी खीमबहादुर केसीकाअनुसार जैविक विविधता कायम गर्न, वन क्षेत्रमा गर्मीयाममा डढेलो नियन्त्रण गर्न, जलचर, थलचर, वन्यजन्तुको संरक्षणका लागि पोखरी निर्माण गरिएको छ ।

बृहत दाङ उपत्यका सिचाई आयोजनामार्फत जिल्लामा १७ वटा ड्याम गत वर्ष निर्माण गरिएको थियो । यो वर्ष ९ वटा निर्माण गर्न थालिएको छ । आयोजनाका सूचना अधिकारी शान्तराज गौतमकाअनुसार ती ड्याम उत्तरी क्षेत्रमा वन क्षेत्रमा र दक्षिणी क्षेत्रमा सीमसार क्षेत्रमा रहेका छन् ।

पर्यावरणकर्मी डिल्लीबहादुर रावतले जिल्लामा सीमसार क्षेत्र संरक्षण अभियानकै रुपमा सञ्चालन भएपछि नयाँ प्रजातिका चराहरु देखिन थालेको बताउनुभयो । उत्तरी क्षेत्रमा निर्माण गरिने ड्याम, पोखरीले जैविक विविधता कायम गर्नुका साथै गर्मीयाममा पानीका मुहान सुक्ने समस्या दीर्घकालीन रुपमा समाधान हुने बताउनुभयो ।

जिल्लामा सबैभन्दा बढी घोराही उपमहानगरपालिका क्षेत्रमा ड्याम निर्माण गरिएको छ । त्यहाँ २८ क्षेत्रमा ड्याम निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका १८ मा चारवटा पोखरी निर्माण गरिएको छ । तीमध्ये दुईवटा रानी सामुदायिक वन क्षेत्र र कात्तिके रानी सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा बनाइएको वडाध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।

चरा संरक्षणकर्मी चिरञ्जिवी खनालकाअनुसार जिल्लामा सीमसार क्षेत्रको संरक्षणसँगै नदी, खोलामा जाने चराहरु त्यस्ता सीमसार क्षेत्रमा देखिनथालेको बताउनुभयो । पछिल्लो समय खोला, नदीमा बालुवा गिट्टी उत्खनन, क्रसर उद्योग र मानवको उपस्थिति हुन थालेपछि चरा सीमसार क्षेत्रमा बढी देखिन थालेको बताउनुभयो । दाङ उपत्यकाभित्र रहेका दुई दर्जन बढी खोलाहरुमध्ये गर्मीयाममा अधिकांश सुक्नेगरेका छन् ।