खुला | प्रदेश |

सालको काठसहित तामाङ पक्राउ

अमरराज नहर्की
तनहुँ, माघ १९ गते । तनहुँमा प्रहरीले अवैध सालको चिरान काठसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । तनहँुको देवघाट गाउँपालिकाको देवघाटस्थित इलाका प्रहरी कार्यालय देवघाटको प्रहरीले काठ बरामद गरेको हो ।

अवैध रुपमा ओसारपसार भइरहेको अवस्थामा चितवनको भरतपुर महानगरपालिका– २ का कामबहादुर तामाङलाई सालको चिरान काठ सहित पक्राउ गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । मङ्गलबार राती देवघाट गाउँपालिकाको घिनटारबाट ना २ च ७३७५ नम्बरको बोलेरो जीपमा ओसारपसार गरिरहेकै अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालयकाअनुसार ७४ थान सालको चिरान काठ बरामद गरी चालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गरिएको काठ, गाडी र चालकलाई देवघाट सवडिभिजनमा बुझाइएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछानेले जानकारी दिनुभयो ।

सो गाडीमा बरामद भएको काठ ४८.९५ क्युफिट रहेको डिभिजन प्रमुख काफ्लेले जानकारी दिनुभयो । बरामद काठको मूल्य बजार भाउअनुसार करिब चार लाख रुपियाँ पर्ने कार्यालयले जनाएको छ ।