दुई सय जना किसानलाई हाते ट्याक्टर वितरण
बेलिना थापा
लमजुङ, माघ १९ गते । लमजुङको बेंसीसहर नगरपालिकाले नगरभित्रका २ सय जना किसानलाई हाते ट्याक्टर (मिनिट्रिलर) वितरण गरेको छ । कृषिमा यन्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यसाथ ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण गरेको हो ।
नगरपालिका प्रमुख गुमानसिंह अर्यालले कृषिमा यन्त्रकरण गरी लागत घटाउन र कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन नगरपालिकाले किसानलाई हाते ट्याक्टर वितरण गरेको बताउनुभयो । उहाँकाअनुसार यसबर्ष माग आएका अधिकांशलाई हाते ट्याक्टर वितरण गरिएको छ । नगरपालिकाले अनुदानमा हाते ट्याक्टर प्रदान गरेपछि बाँझो जग्गाहरु प्रयोगमा आउन थालेको उहाँले बताउनुभयो । विदेशबाट फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउन नगरपालिकाले पहल गरेको बताएको छ ।
नगरपालिकाले यसवर्ष ७ र ६ हर्सपावर डिजेलवाला तथा ७ हर्सपावर पेट्रोलवाला गरी ३ प्रकारको मिनिट्रिलर वितरण गरेको छ । ७ हर्सपावरको डिजेलवालाको ७० हजार, ६ हर्स पावरको ६० हजार र पेट्रोलवाला ७ हर्सपावरको ५० हजार रुपियाँ मूल्य पर्ने मिनिट्रिलर वितरण गरेको हो ।
कृषि तथा पशुपंक्षी शाखाका प्रमुख सूर्यप्रसाद सेढाइँका अनुसार नगरपालिकाले कृषिमा लागत घटाउने र उत्पादन बढाउने उद्देश्यसाथ प्रत्येक वर्ष हाते ट्याक्टर वितरण गर्दैआएको छ । ट्याक्टरको माग बढ्दैगएको उहाँले बताउनुभयो ।
यसअघिको कार्यक्रम प्रभावकारी भएपछि यसलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको नगरप्रमुख अर्यालले बताउनुभयो । पछिल्लो समय गोरु पाउन गाह्रो हुने, युवापुस्ता वैदेशिक रोजगारमा रहेकाले गाउँमा खेतालाको अभाव हुने लगायतका समस्याले गर्दा गाउँमा खेतीयोग्य जमिन बाँझो रहँदैआएको छ । नगरपालिकाले ट्याक्टर दिएपछि केही समस्या समाधान हुने विश्वास गरेको छ ।
नगरपालिकाको कार्यक्रमले किसानलाई राहत मिलेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमानाथ कँडेलले बताउनुभयो । चालु वर्षमा हाते ट्याक्टरका लागि २ सय १० जना किसानको आवेदन परेकोमा २ सय जनालाई वितरण गरिएको नगरपालिकाले हालसम्म करिब ५ सय जना किसानलाई हाते ट्याक्टर वितरण गरेको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले बताउनुभयो ।